नेकपाका सांसद रमेश मल्लले राष्ट्रियता, सार्वभौमसत्ता, एक चीन नीति तथा सन्तुलित छिमेकी सम्बन्ध कुनै पनि राजनीतिक सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले विगतको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सर्वसम्मत रूपमा पारित गरेर राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा ऐतिहासिक सन्देश दिएको स्मरण गरे।
उनले वर्तमान प्रधानमन्त्रीबाट नेपालले छिमेकी मुलुकको भूमि मिचिएको भन्ने आशयको अभिव्यक्ति आएको भन्दै त्यसप्रति असन्तुष्टि जनाउँदै यस्तो अभिव्यक्तिपछि सदनमा ताली बजेको दृश्य राष्ट्रिय लज्जाबोधको विषय बनेको टिप्पणी गरे ।
सांसद मल्लले नेपालको परराष्ट्र नीतिको आधार स्वतन्त्रता, असंलग्नता, पञ्चशीलका सिद्धान्त, सार्वभौमिक समानता, पारस्परिक सम्मान तथा सन्तुलित छिमेकी सम्बन्ध रहेको उल्लेख गरे। उनले विशेषगरी एक चीन नीति नेपालको राष्ट्रिय सहमति, संवैधानिक प्रतिबद्धता र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए।
नेपालले आफ्नो भूमिलाई कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै उनले परराष्ट्र सम्बन्धमा विगतको इतिहासको ‘ब्यागेज’ नबोक्ने नाममा राष्ट्रिय हितविपरीत हुने गतिविधिलाई बेवास्ता गर्ने वा प्रोत्साहन गर्ने कार्य स्वीकार्य हुन नसक्ने धारणा राखे।
सांसद मल्लले राष्ट्रियता, सार्वभौमसत्ता, एक चीन नीति र सन्तुलित छिमेकी सम्बन्ध नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका विषय भएकाले यिनलाई राजनीतिक सौदाबाजीको माध्यम बनाउन नहुनेमा जोड दिए।