सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ३, महेशपुर घर भएकी करिब ३७ वर्षीया महिलाको बुधबार दिउँसो स्थानीय खोलाकिनारमा शव भेटिएको छ। प्रहरीका अनुसार स्थानीय रामशंकर यादवकी श्रीमती रञ्जुदेवी यादवको शव बुधबार दिउँसो करिब २ बजेतिर लक्ष्मीपुर पतारी ५ र ६ नम्बर वडालाई जोड्ने सरस्वती खोलाकिनारनजिक रहेको आँपको रुखमुनि भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले शवको घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान थालिएको छ ।
भैँसी चराउन गएका स्थानीय एक युवकले खोलाकिनारमा शव देखिएको भन्दै हल्ला गरेपछि गाउँले र माइती पक्षबाट बाबु घटनास्थल पुगेको जनाइएको छ। त्यसलगत्तै प्रहरीलाई खबर गरिएपछि इलाका प्रहरी कार्यालय महेपुरपतारबाट घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउनुका साथै स्थानीयसँग सोधपुछ गरेको थियो ।
करिब सात वर्षदेखि मानसिक सन्तुलन गुमाएकी मृतक महिला प्रायः सरस्वती खोला हुँदै माइती र घर ओहोरदोहोर गरिरहने स्थानीयले बताए। गाउँलेका अनुसार उनका श्रीमान् पनि मानसिक सन्तुलन गुमाएका छन्। प्रहरीका अनुसार शंकास्पद चिह्न संकेत केही पनि नभेटिएकाले भवितव्य मृत्यु हुने बढी सम्भावना रहेको छ।
यद्यपि, पोस्टमार्टम रिपोर्टमा केही नयाँ आए त्यहीअनुसार अनुसन्धान गर्न सकिने प्रहरीले जनाएको छ। करिब डेढ वर्षअघि मृतक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको घटना आफूहरूले पनि थाहा पाएको उल्लेख गर्दै प्रहरीले त्यति बेलाको घटना, शव भेटिएको स्थान र शवको प्रकृति हेर्दा कुनै तादात्म्यता नदेखिने बताएको छ।