प्रधानमन्त्रीलाई गालीयुक्त युट्युब सामग्री बनाएको आरोप लागेका पोखरेल पुर्पक्षका लागि थुनामा

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहलाई युट्युबमा गालीगलौजयुक्त सामग्री राखेको आरोपमा पक्राउ परेका पाँचथरको फाल्गुनन्द गाउँपालिका– ७ का रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश कुमार मास्केको इजालासले बिहीबार यस्तो फैसला गरेको हो ।

पोखरेलले प्रधानमन्त्री शाहसहितका नेताहरूलाई अपमानजनक गालीगलौजयुक्त सामग्री युट्युबमा हालेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दर्ता भएको थियो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख छ ।

प्रहरीले पोखरेललाई गत २६ चैतमा पक्राउ गरेको थियो । त्यसको केही दिनपछि प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको थियो । पोखरेल पक्राउ परेपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले २९ चैतमा उनलाई परिवारको जिम्मा लगाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत पाँचथरको आदेशविरुद्ध पोखरेल उच्च अदालत विराटनगर, इलाम इजालसमा पुनरावेदनका लागि गएका छन् । उनको रिट निवेदनमा पुनरावेदन उच्च अदालत विराटनगर, इलाम इजालसले जिल्ला अदालत पाँचथरको आदेशउपर कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश श्यामकुमार विश्वकर्माको इजालासले उक्त आदेश दिएको हो । 

See More On

सुझावित समाचार