उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढिरहेको बताएकी छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास, रोजगारी सिर्जना तथा औद्योगिक क्षेत्रको योगदान बढाउने उद्देश्यका साथ सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइन्।
उनले सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै अन्तरमन्त्रालय र विभिन्न तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने तथा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने दिशामा मन्त्रालय सक्रिय रहेको बताइन्।
मन्त्री कुमारीका अनुसार लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा पुगेको छ। उक्त रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानीको सुरक्षा तथा उद्योग प्रतिष्ठानलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ। विगतका आन्दोलनका कारण बन्द भएका तथा रुग्ण बनेका उद्योगलाई पुनः सञ्चालनमा ल्याउन छुट, सुविधा र सहुलियतको व्यवस्थासमेत रणनीतिमा समेटिएको उनले बताइन्।
रोजगार आबद्ध उत्पादन क्षेत्र कार्यक्रमअन्तर्गत घोषणा भएका औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न प्लट उपलब्ध गराई थप रोजगारी सिर्जना गरिने जानकारी दिँदै उनले देशभरका १० औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई थप व्यवस्थित बनाउने प्रक्रिया सुरु भइसकेको उल्लेख गरिन्।