सुशासनको नारा दिने सरकारले अनिर्वाचित सल्लाहकारमार्फत सिंहदरबार चलाउँदै छ : रामकुमारी झाँक्री

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा त्यसविपरीत काम गरेको आरोप लगाएकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सदस्य झाँक्रीले सोपानमा आधारित स्थायी प्रशासन (ब्युरोक्रेसी)मा रहेका धेरै कर्मचारीले राजीनामा दिएको चर्चा बाहिरिएको उल्लेख गरिन् ।

कर्मचारीले राजीनामा दिनु र मन्त्रीहरूका पछाडि  विशिष्ट श्रेणी, प्रथम तथा द्वितीय श्रेणीका अधिकृतसरह तलब, भत्ता र सुविधा पाउने गरी दर्जनौँ सल्लाहकार नियुक्ति भइरहेको भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ मागिन्।

झाँक्रीले सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकारले स्थायी प्रशासनलाई प्रभावकारी रूपमा परिचालन नगरी अनिर्वाचित व्यक्तिहरूमार्फत सिंहदरबार सञ्चालन गर्न खोजिएको हो भन्ने प्रश्न उठाइन्।

उनले सरकारसँग सल्लाहकार नियुक्तिको कानुनी आधार, उनीहरूलाई प्रदान गरिएका सुविधा, कुन निर्णय, संविधानको कुन व्यवस्था र कुन कानुनका आधारमा यस्तो अधिकार प्रयोग गरिएको हो भन्ने विषयमा स्पष्ट जानकारी दिन माग गरिन्। 

सुझावित समाचार