एनपिएलको मिनी अक्सन आज हुँदै

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि आज (सोमबार) काठमाडौंमा मिनी अक्सन हुँदै छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनका लागि कुल १५५ जना खेलाडीलाई अन्तिम सूचीमा समावेश गरेको छ । अक्सन झम्सिखेलको एक होटेलमा हुँदै छ । 

यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडी अक्सनको ‘सर्टलिस्ट’मा परेका हुन् । जसमा क्याटेगोरी ‘ए’ मा पाँचजना, क्याटेगोरी ‘बी’मा २७ जना र क्याटेगोरी ‘सी’ मा १२३ जना खेलाडी रहेका छन् । क्याटेगोरी ‘ए’मा राष्ट्रिय टिमका ओपनिङ ब्याटर तथा विकेटकिपर आसिफ शेख सबैको नजरमा हुनेछन् । उनलाई जनकपुरले रिलिज गरेको थियो । त्यस्तै, अर्जुन घर्ती, विवेककुमार यादव, रूपेशकुमार सिंह र तृतराज दास क्याटगोरी ‘ए’मा रहेका छन् । 

अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडीहरूलाई खरिद गर्नेछन् । यसपटकको नयाँ नियमअनुसार हरेक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी रहनेछन् । 

अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक रकम छ । जनकपुरसँग ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ भने काठमाडौं गोर्खाजसँग खर्च गर्नका लागि मात्र ३४ लाख रुपैयाँ बाँकी रहेको छ ।

सुझावित समाचार