सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरीका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा मानवीय हितका क्षेत्रमा पुर्याउँदै आएको निरन्तर योगदानकै निरन्तरतास्वरूप समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा तथा नवजात शिशुलाई जोगाउन यो कार्यक्रम फलदायी हुने विश्वास बैंकको छ । कुपोषणजन्य रोगहरूको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ आयोजना गरिएको यस अभियानमा देशका विभिन्न स्थानीय निकायसँग समन्वय गरिएको थियो ।
बैंकका अनुसार सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करिब एक हजार ५० जना गर्भवती तथा सुत्केरीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको छ । शिविरमा सहभागी महिलाको स्वास्थ्यकर्मीद्वारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनीहरूलाई तीन महिनाका लागि पुग्ने स्वास्थ्यवद्र्धक पौष्टिक खाद्य सामग्रीसमेत वितरण गरिएको थियो ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सन्ज्यालका अनुसार बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । हाल सानिमा बैंकको सातै प्रदेशमा एक सय ३४ वटा कार्यालय र एक सय २७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।