स्वतन्त्रता दिवस मनाउँदै गर्दा संकटमा अमेरिकी गणतन्त्र

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले यो वर्षको जुलाई ४ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको २५० वर्ष मनाउँदै गर्दा, यसका संस्थापकका चेतावनी दिमागमा आउँछन् । ‘हामीले लडेर ल्याउन खोजेको सरकार निर्वाचित निरंकुशता थिएन,’ थोमस जेफरसनले भर्जिनिया राज्यको नोट्समा लेखेका थिए । जेफरसन अमेरिकी स्वतन्त्रताको घोषणापत्र लेखकमध्ये एक हुन् । उनको ‘निर्वाचित निरंकुशता’को उदयविरुद्ध चेतावनी राजनीतिक शक्तिको केन्द्रीकरणले खतरा निम्त्याउँछ भन्ने सुरुवाती अभिव्यक्तिमध्ये एक थियो । साढे दुई शताब्दीपछि, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको अमेरिकामा जेफरसनका शब्द सत्य हुने हो कि भन्ने डर बढ्दै छ । 

यस सन्दर्भमा, २,००० वर्ष पहिलेको प्राचीन रोममा ईसापूर्व १९३ मार्च २८ मा जारी गरिएको शाही लिलामीलाई ख्याल गर्नु उपयुक्त हुन्छ । सुधारवादी सम्राट् पेर्टिनाक्सलाई प्रिटोरियन गार्डले हत्या गरेपछि, अभिजात वर्गको सो फौजले बलियो गढ (शिविर) बनाएर आफूलाई त्यसभित्र सुरक्षित गर्ने प्रयास गर्यो । त्यहीँबाट तिनले भविष्यमा रोमन सम्राट्लाई ‘अगस्टस’ भनिने भन्दै सेनालाई सबैभन्दा ठुलो आर्थिक बोनस प्रस्ताव गर्ने व्यक्तिले उक्त पद पाउने घोषणा गरे ।

त्यसपछि देशको सार्वभौमशक्तिका लागि एक निर्लज्ज व्यावसायिक लिलामी भयो । शिविरभित्र, सल्पिसियानसले आक्रामक बोली लगाए भने शिविरको पर्खालबाहिरबाट धनी सिनेटर डिडियस जुलियानसले जवाफी बोली चर्को स्वरमा पर्खालपारिसम्म सुनिने गरी सुनाए । जुलियानसले प्रतिसिपाही २५ हजारको वाचा गरेपछि उनी सम्राट् चुुनिए । 

आजको दिनमा ट्रम्पले दुई हजारअघिको रोमको झल्को दिने व्यावसायिक लेनदेनको रणनीति अपनाएका छन् । ट्रम्पले राज्यशक्ति, अन्तर्राष्ट्रिय सम्बन्धदेखि घरेलु न्यायिक नियुक्तिको संयन्त्रलाई समेत आफ्नो फाइदा र व्यावसायिक हितमा प्रयोग गरिने वस्तुका रूपमा व्यवहार गरिरहेका छन् । अमेरिकी संसद्को कंग्रेसनल कमिटीले बुझाएको एक अनुसन्धान प्रतिवेदनअनुसार ट्रम्पले देशको २५०औँ स्वतन्त्रता दिवसको उत्सव समारोहसमेत आफ्नो राजनीतिक एजेन्डा र व्यावसायिक उद्यमलाई फाइदा हुने गरी आयोजना गरे ।

शक्तिको यस्तो व्यावसायिक अभ्यासले ऐतिहासिक रूपमा सिजरवादको उदयतर्फको संक्रमणलाई गति दिन्छ । रोमन गणतन्त्रको अन्तिम अराजक दशकमा, जुलियस सिजरजस्ता ‘करिसम्याटिक’ कमान्डर अभिजात सिनेटप्रति रुष्ट बन्दै गएको जनभावनाको फाइदा उठाउँदै सत्तामा आएका थिए । सिजरवादले अधिनायकवादको उदय रोक्न बनाइएका संस्थागत सुरक्षाघेरा तोड्दै जनतासँग जोड्ने कानुनी तथा संवैधानिक प्रक्रियाविरुद्ध पपुलिस्ट नेता र उसका समर्थकबिचको प्रत्यक्ष बन्धनको वकालत गर्छ ।

ट्रम्पले राष्ट्रपति पदलाई व्यापार र व्यक्तिगत लाभमा सीमित गरेर अमेरिका स्थापना गर्दाताकाको आदर्शलाई खोक्रो पार्दै छन्

उही भाकामा अहिले समर्थकले पनि ट्रम्पको संवैधानिक मान्यताप्रतिको पूर्ण बेवास्तादेखि न्यायपालिकाको अवज्ञालाई लोकप्रियतावादको जितका रूपमा प्रशंसा गरिरहेका छन् । ट्रम्पको नेतृत्वमा अमेरिका जेफरसनले चेतावनी दिएजस्तै ‘निर्वाचित निरंकुशता’नजिक गइरहेको छ । अमेरिकाका प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङटन ‘लुसियस क्विन्क्टिअस सिनसिनाटस’बाट प्रेरित थिए । ईसापूर्व ४५८ मा, रोमन सिनेटले कृषिकर्म गरिरहेका सिनसिनाटसलाई बोलाएर पूर्ण तानाशाही अधिकार प्रदान गरेको थियो । तर, १६ दिनमा शत्रुपक्षलाई पराजित गरेपछि, सिनसिनाटसले तुरुन्तै राजीनामा दिए र पुनः कृषिकर्ममा फर्किए ।

सन् १७८३ मा अमेरिकी स्वतन्त्र संग्राम लडेको ‘कन्टिनेन्टल आर्मी’का कमान्डर पदबाट राजीनामा दिँदा र सन् १७९६ मा स्वेच्छाले तेस्रो राष्ट्रपति पद अस्वीकार गर्दा वासिङटनले सिनसिनाटसको अनुकरण गरे । उनले गणतन्त्र रक्षाका लागि राजनीतिज्ञले आफ्नै राजनीतिक अवसान स्विकार्नुपर्ने कुरा व्यवहारबाटै देखाए । तर, ट्रम्प भने सिनसिनाटस आदर्शविरुद्ध र सिजरवादको पक्षमा देखिन्छन् । 

थोमस एफ म्याडेन नामक लेखकले आफ्नो पुस्तक ‘द फल अफ रिपब्लिक्स : अ हिस्ट्री फ्रम एन्सियन्ट कार्थेज टु दी अमेरिकन कन्स्टिच्युसन’मा कुनै पनि गणराज्य बाह्य प्रतिकूलताले सबल बन्दै जाने तर लामो अवधिको समृद्धि र भौतिक सुरक्षाले कमजोर हुने तर्क गरेका छन् । जब गणतन्त्रले भूराजनीतिक प्रभुत्व प्राप्त गर्छ र अपार सम्पत्ति जम्मा गर्न थाल्छ यसको नागरिक संरचना कमजोर बन्न थाल्छ । त्यसपछि राजनीति सामूहिक प्रयत्न रहन छाड्न, जसका लागि आपसी त्यागको आवश्यकता पर्छ । बरु, नागरिकहरूले राज्यलाई निजी आर्थिक लाभ सुरक्षित गर्ने अखडाका रूपमा व्यवहार गर्न थाल्छन् ।

आजको दिनमा अमेरिका आफ्नो ऐतिहासिकस्तरको आर्थिक असमानता र राजनीतिक जवाफदेहिता दिनुपर्ने प्रमुख संस्थाको सशस्त्रीकरणबाट यही चरणमा पुगेको छ । ट्रम्प अमेरिकी गणतन्त्रको पतनको सबैभन्दा स्पष्ट लक्षण हुन् । दसकौँको ध्रुवीकरण र संस्थागत क्षयले गणतन्त्रलाई पहिल्यै कमजोर बनाएकाले उनीजस्ता नेता उदाएका हुन् । 

अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा आमअमेरिकीले सोच्नैपर्छ, के उनीहरूको संवैधानिक संयन्त्र बहुलवाद र लोकप्रियताको यो शक्तिशाली गठजोडबाट बाहिर निस्कन सक्छ ? अमेरिकाका संस्थापक नेताले भावी नेतामा संवैधानिक व्यवस्थाको संरक्षण गर्ने प्रतिबद्धता हुने विश्वासका साथ नियन्त्रण र सन्तुलनको प्रणाली तयार पारेका थिए । तर, जब एक स्वतन्त्र राष्ट्रका नेताले नै आफ्नो संवैधानिक पदलाई फाइदाका लागि र देशका कानुनलाई व्यक्तिगत शक्ति हासिल गर्ने उपकरणमा सीमित गर्छ तब गणतन्त्रको अपरिहार्य सिजरवादतर्फ संक्रमण हुन्छ । 
द स्क्रोल डट इनबाट (सिके एक राजनीतिक, दार्शनिक र संवैधानिक वकिल हुन्)

सुझावित समाचार