नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिको आइतबार बसेको बैठकले डिजिटल पेपरलेस मतदान प्रणाली वा इभिएम इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ।
बैठकले निर्वाचन प्रक्रिया सुरु भएसँगै लागू हुने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ। विधानमा अन्यथा व्यवस्था नभएको अवस्थामा निर्वाचन अवधिभर आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने निर्णय गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।
निर्वाचन व्यवस्थापनमा दक्ष जनशक्ति परिचालन गर्न कानुन व्यवसायी तथा अन्य पेसागत समूहबाट स्वयंसेवक आह्वान गरी रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) दिएर आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ।
