राजगढका अध्यक्ष मण्डललाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्चले माग्यो कैफियत प्रतिवेदन

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

उच्च अदालत जनकपुर, राजविराज इजलासले हत्याको आरोप लागेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहित दुईजनालाई धरौटीमा छाड्न जिल्ला अदालतले गरेको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ।

न्यायाधीश माधव धितालको एकल इजलासले बुधबार जिल्लाको आदेशको कैफियत प्रतिवेदन झिकाउन भनेको हो। सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले रामनारायण मण्डललाई २९ मंसिर ०८२ मा  दुई लाख रुपैयाँ धरौटीमा र न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलासले १७ पुस ०८२ मा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

जिल्लाको आदेश चित्त नबुझेर जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले उच्च सरकारी वकिल कार्यालयमा निवेदन दिएको थियो। उच्च सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश धितालले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन्।

तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो। हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका ओमप्रकाश मण्डलका बुबा गंगाराम मण्डलले मन्दिरको नाममा रहेको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेपछि विवाद चर्किएको र त्यसकै कारण हत्या भएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रअनुसार राजविराजमा बैठक गर्ने वहानामा पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण पुलनजिक हत्या गरी शव नहरमा फालिएको थियो। मन्दिरको बाली लुटपाट र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगाराम मण्डलविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदनसमेत दिएका थिए।

सुझावित समाचार