२३औँ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको दोस्रो दिन तीनमध्ये दुई खेल टाइब्रेकर (पेनाल्टी सुट) बाट छिनोफानो भयो । यसमा चारपटकको च्याम्पियन जर्मनी तथा पूर्वउपविजेता नेदरल्यान्ड्स टाइब्रेकरमा पराजित भए । पाराग्वेले पेनाल्टी सुटमा विश्वकै अनुभवी टोली जर्मनीलाई ४–३ ले स्तब्ध पार्यो । मोरक्कोले उत्कृष्ट फर्ममा रहेको नेदरल्यान्ड्समाथि ३–२ को सनसनी जित निकाल्यो । जर्मनी र नेदरल्यान्ड्स चालू विश्वकपबाट बाहिरिनु अहिलेसम्मकै अप्रत्याशित नतिजा मानिन्छ ।
यो तथ्यांक मंगलबार बिहान विश्वकपको नकआउट चरणका दुई नतिजाको लेखाजोखा हो । विश्वकप फुटबल प्रतियोगितामा एउटा चलन छ । जब खेलको छिनोफानो ९० तथा थप गरिएको ३० मिनेटमा निस्किँदैन, त्यसवेला अतिरिक्त समयको अन्तिम समयतिर खेलाडी परिवर्तन हुन्छ ।
अतिरिक्त समयमा खेलाडी परिवर्तन हुनु भनेको टाइब्रेकरको तयारीका लागि हो । प्रतिस्पर्धामा रहेको टोलीले खेल टाइब्रेकरमा जाने सम्भावना बढेपछि त्यो समयमा प्रहार गर्ने खेलाडीलाई तयारी गरेको हुन्छ । निश्चित रूपमा टाइब्रेकर हुने भएपछि उसलाई मैदानमा विस्थापन गराइन्छ । यस्तोमा टोलीका राम्रा खेलाडी पनि मैदानबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ । प्रशिक्षणको समयमा प्रशिक्षकले टाइब्रेकर प्रहार गर्ने खेलाडीलाई निखार्छन् । विगत धेरै वर्षदेखि यस्तै चलन भएको देखिन्छ ।
तर, युरोप तथा दक्षिण अमेरिकी फुटबलविज्ञ यस्तो गर्नु राम्रो नहुने बताउँछन् । विश्वकप वा युरोपियन च्याम्पियनमा टाइब्रेकरअगाडि खेलाडी परिवर्तन गर्नु खराब रणनीति भएको उनीहरू मान्छन् । ‘टोलीले निर्धारित वा अतिरिक्त समयमै जित निकाल्नुपर्छ । टाइब्रेकरमा प्राप्त जित त्यति रमाइलो हुँदैन,’ विज्ञले भने, ‘विश्वकप र युरोकपमा यस्तै देखिन्छ । जुन हामीहरूको परिभाषामा राम्रो मानिँदैन । टाइब्रेकरलाई भनेर तयारी गरेका खेलाडीले असफल प्रयास गर्दा त्यसको जिम्मेवारी कसले लिने हो ।’
सन् २०२६ को विश्वकपमा पहिलो टाइब्रेकरमा इंग्लिस प्रिमियर लिगको बाउर्नेमाउथका स्ट्राइकर जस्टिन क्लेभेर्टले पेनाल्टी मिस गरे । उनी खेलको ११३औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका थिए । नेदरल्यान्ड्सका यी अनुभवी खेलाडीले केवल पोस्ट भन्दा १२ यार्डबाट गोल गर्न सकेनन् । नेदरल्यान्ड्सले नकआउट चरणमा टाइब्रेकरमा खेल जाँदा उनलाई राम्रो तयारीमा राखेको थियो । तर, जस्टिनले खराब प्रहार गरे ।
दक्षिण अमेरिकी तथा युरोपका फुटबलविज्ञले पराग्वेले पनि अतिरिक्त समयमा गलत निर्णय लिएको मानेका छन् । जर्मनीजस्तो टाइब्रेकरका अनुभवी राष्ट्रविरुद्ध पाराग्वेले सफलता चुमे पनि उसले वेस्ट ह्यामका डिफेन्डर फावियन बाल्वुएनलाई अतिरिक्त समयमै मैदानभित्र छिराएको थियो । फावियनले पनि गोल गर्न सकेनन् । जर्मनीविरुद्धको टाइब्रेकरमा पाराग्वेका दुई खेलाडीले असफल प्रहार गरेका थिए । यद्यपि, गोलरक्षकको उत्कृष्ट प्रदर्शनमा पाराग्वे प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
टाइब्रेकरमा पहिलोपटक जर्मनी स्तब्ध
जर्मन समर्थकले मंगलबार बिहान खराब नतिजा सामना गरे । सुरुवातमा पाराग्वेलाई जर्मनीले हल्का रूपमा लिएको देखिन्थ्यो । यद्यपि, पाराग्वेको डिफेन्स र फिनिसिङ गजबको थियो । यस्तोमा जर्मनीले पाराग्वेविरुद्ध निर्धारित समयमा जित निकाल्न सकेन । खेलको अन्तिम नतिजा हात पार्न उसले टाइब्रेकरको प्रतीक्षा गर्यो । टाइब्रेकरमा खेल जाँदा जर्मनी खुसी तथा पाराग्वे निराश देखिन्थ्यो ।
यसको एउटै कारण थियो, विश्वकप तथा युरोकपमा जर्मनी पेनाल्टी सुटमा लगभग शतप्रतिशत नतिजा निकाल्ने टोलीमा पर्छ । अझ विश्वकपको सन्दर्भ निकाल्दा पाराग्वेसँग पराजित हुनुअघि जर्मनीले कुनै टाइब्रेकर गुमाएको थिएन । विश्वकप इतिहासमा पहिलोपटक जर्मनी टाइब्रेकरमै पराजित भयो । अतिरिक्त समयभित्र प्रवेश गरेका निक वाल्टमेटले पाराग्वेको पोस्टमा गोल गर्न सकेनन् । त्यहीँ नै नादिएम अमिरी तथा जमाल मुसिलाले गोल गरे ।
विश्वकपको नकआउट चरणमा पुगेको इंग्ल्यान्ड नेदरल्यान्ड् र जर्मनीको तुलनामा भाग्यमानी छ । युरो २०२४ मा इंग्ल्यान्डले खेल टाइब्रेकरमा जाने निश्चित भएपछि खेलाडी परिवर्तन गरेको थियो । विस्थापन्न खेलाडीका रूपमा मैदानभित्र छिरेका खेलाडीले नै इंग्ल्यान्डलाई जित दिलाए ।
सन् २०२४ को युरोको नकआउट चरणमा इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डमाथि टाइब्रेकरमै जित हात पार्यो । त्यो वेला इंग्ल्यान्डका लागि दोस्रो हाफको अतिरिक्त समयमा एलेसान्डर तथा इभान टोनी मैदानमा छिरेका थिए । उनीहरूले शतप्रतिशत गोल गरे । सन् २०२० को युरो फाइनलमा इंग्ल्यान्डको प्रयोग असफल भयो । जोडोन सान्चो र मार्कोस रास्फोर्डले पेनाल्टी मिस गरे । सन् २००६ को विश्वकप क्वार्टरफाइनलमा इंग्ल्यान्डका जमेई काराघेर पोर्चुगलविरुद्ध अतिरिक्त समयमै मैदानभित्र छिरेका थिए । उनले टाइब्रेकरमा गोल गर्न सकेनन् ।
११५औँ मिनेटमा खेलाडी प्रवेश
युरो तथा विश्वकपमा टाइब्रेकरको अवस्था आउँदा खेलाडीलाई ११५औँ मिनेटपछि मैदानमा छिराउने चलन छ । मैदानभित्र प्रवेश गर्ने खेलाडीमाथि थप दबाब नदिन नै प्रशिक्षकले उसलाई अन्तिम पाँच मिनेट खेलाउँछन् । प्रशिक्षकले अतिरिक्त खेलाडीलाई भित्र पठाउँदा सिनियर खेलाडीलाई बाहिर निकाल्छन् । धेरैजसो सिनियर खेलाडीले पावर सुट खेल्छन् । अनुभव नभएका खेलाडीलाई मैदानमा छिराउँदा अतिरिक्त दबाब हुने भएकाले नै त्यस्ता खेलाडीलाई लगभग अन्तिम समयमा छिराउने गरेको विज्ञहरूले बताए । ‘खेल सकिन लाग्दा उनीहरूलाई पठाउँदा दबाब धेरै हुँदैन । अगाडि नै पठाउँदा दबाब टोलीमाथि हुन्छ,’ विज्ञहरूले भने, ‘यस्तोमा नतिजा पनि उल्टिन सक्छ ।’