नेपालमा एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना गर्न सरकार कार्ययोजना बनाएर अघि बढिरहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले पछिल्लो समय बैंकिङ क्षेत्रबाट पनि एएमसी स्थापनाको माग बढेको बताए ।
‘बजेटमा बोलिसकेको छ । त्यसअनुसार कार्ययोजना बनाएर माइलस्टोन तोकेर मन्त्रालयले काम गरिरहेको छ । तोकिएको समयभित्र यो आउँछ,’ आचार्यले भने । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले एएमसी स्थापना हुँदैमा बैंकिङ क्षेत्रका सबै समस्या एकैपटक समाधान नहुने बताए ।
एएमसीले समस्यामा परेका कम्पनीहरूको व्यावसायिक सम्भाव्यता अध्ययन गरी वित्तीय व्यवस्थापन, नगद प्रवाह सुधार, पुनर्संरचना र व्यवसाय पुनः सञ्चालनका लागि काम गर्ने उनले बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको विषय ०५७ सालदेखि नै उठ्दै आएको बताए । ‘०५७–५८ सालदेखि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाबारे कुरा गर्दै आएका रहेछौँ,’ पौडेलले भने ।