विश्वकपको समूह चरणबाट बाहिरिएपछि दक्षिण कोरियाली फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति ली जे म्युङले राष्ट्रिय टोलीको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक नियुक्ति प्रक्रिया र टिमको व्यवस्थापनबारे समीक्षा गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रशिक्षक होङले देशवासीले अपेक्षा गरेअनुरूप नतिजा दिन नसकेको भन्दै हारको जिम्मेवारी लिँदै माफी मागेका छन् ।
दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध पहिलो खेल जित हात पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको थियो । त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग दक्षिण कोरिया पराजित भएको थियो । उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरण पुग्ने आशा कोरियाको थियो । तर, कंगोले उज्वेकिस्तानलाई ३–१ ले हराएपछि कोरियाको नकआउट चरण पुग्ने आशा समाप्त भएको थियो ।
५७ वर्षीय होङले टोलीको आधार शिविरबाट स्वदेश फर्किनुअघि समर्थकसँग क्षमा माग्दै पद छाड्ने घोषणा गरेका हुन् । उनले देशवासीले अपेक्षा गरेको नतिजा दिन नसकेको स्वीकार गरेको बताए ।
होङको यो दक्षिण कोरियाली राष्ट्रिय टोलीसँगको दोस्रो कार्यकाल थियो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि टोलीको नेतृत्व गरेका थिए । त्यसवेला पनि कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।
लगातार ११औँ विश्वकप खेलेको दक्षिण कोरिया सन् २००२ मा घरेलु भूमिमा सहआयोजक रहँदा सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी, स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत मेमा सन् २०३० को विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका थिए । सात वर्ष स्कटल्यान्डको टोली सम्हालेपछि उनले बिदा लिने निर्णय गरेका हुन् ।