नेपाली कांग्रेसका सांसद रन्जित कर्णले प्रदेश खारेजी गर्ने भनेर रास्वपाले महाधिवेशनबाट पारित गरेको अर्थ राजनीतिक प्रतिवेदनमा आपत्ति जनाएका छन्।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद कर्णले रास्वपाले चुनावअघि प्रदेश बलियो बनाउने भनेर प्रचण्ड बहुमत पाएको र अहिले सत्तामा गएपछि खारेजी गर्छु भनेर महाधिवेशनबाटै पारित गरेकामा प्रश्न उठाएका हुन्।
सांसद कर्णले रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुर सभामा प्रदेशलाई अझै बलियो बनाउनुपर्ने र अधिकारका लागि काठमाडौं धाउनु नपर्ने भनेर सम्बोधन गरेका विषय उठाए।
यो अभिव्यक्तिबाट जनताको मत पाएर बालेन प्रधानमन्त्री बनेको स्मरण गराउँदै सांसद कर्णले चुनावी वाचाअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउन ध्यानाकर्षण गराए। रास्वपा प्रदेश सभा खारेज गर्ने नीतिमा कसरी पुग्यो भनी उनले प्रश्न गरेका छन्।
जनतामाथि विश्वासघात भएको जिकिर गर्दै उनले भने, ‘त्यतिबेला देशका कुनाकाप्चामा पुगेर संघीयताको मर्म र विकेन्द्रीकरणको वकालत गर्ने नेतृत्व आज सिंहदरबारको कुर्सीमा पुगेपछि किन मौन छ ? किन आज त्यही नेतृत्वको पार्टीले महाधिवेशनमार्फत प्रदेश सभा खारेज गर्ने राजनीतिक प्रस्ताव पारित गरियो ?’