देशभर फैलिँदै मनसुन : मंगलबार र बुधबार ठुलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ्न थालेपछि अब देशभर मनसुन फैलिने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी मंगलबार र बुधबार देशभर वर्षाको सम्भावना छ।
यस प्रणालीका कारण दुई दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठुलो वर्षा तथा एक-दुई स्थानमा भीषण वर्षाको प्रक्षेपण गरिएको छ।
चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
मदन भण्डारीको ७५औँ जन्मजयन्ती । सो अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीसहित पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले एउटै मञ्च सेयर गरेका छन् ।
ज्ञानेन्द्र शाही भन्छन्– सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागरिकलाई मात्र होइन, राज्यका निकायलाई पनि समान रूपमा कानुनी रूपमा जिम्मेवार बनाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सडक, ट्राफिक व्यवस्थापन तथा सरकारी सेवामा हुने लापरबाहीका लागि सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानुन आवश्यक रहेको बताए।
प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबिच कार्यगत एकता आवश्यक : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर र बदनाम गर्ने गतिविधिहरू निरन्तर चलिरहेको बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबिच कार्यगत एकता हुनुपर्नेमा जोड दिए।
पञ्चायत ढाल्न वामपन्थी र नेपाली कांग्रेस मिलेका उल्लेख गर्दै उनले भने, ‘यहाँ प्रतिगमन गरेर हैरान छ, कताबाट समाजवादी निर्माण गर्नु। यति वेला यो प्रतिगमनलाई पराजित गर्नुपर्छ। सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकताका माध्यमबाट जानुपर्छ।’
एमालेसहित कम्युनिस्ट एकताका लागि प्रचण्डको आह्वान
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी देशभक्त शक्तिहरूले सहकार्य र एकतामा ढिलाइ गर्दा देश भयानक दुर्घटनामा पर्ने भन्दै एमालेसहित कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि आह्वान गरेका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान पक्षधर शक्तिहरूसमेत एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। भारतमा जस्तै गरी नेपालमा पनि कम्युनिस्टको अस्तित्व मेटाउन दुनियाँभरका प्रतिक्रियावादीहरू लागेका उनको दाबी छ।
समानतामूलक नीति ल्याउँदा वामपन्थीहरूले नै विरोध गरेको देख्दा अचम्मित छु : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन्। उनले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको करलाई लिएर फैलाइएको भ्रम चिर्न खोजेका हुन्। उनका अनुसार यो कर निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई मात्र लक्षित गरिएको हो।
कालो सिसा प्रयोग गर्नेविरुद्ध ट्राफिक प्रहरीले थाल्यो कारबाही
ट्राफिक प्रहरीले नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा कारबाही सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालेको ट्राफिक प्रहरीले जनाएकाे छ।
कालो सीसा प्रयोग गरेर हतियार, लागुऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने तथा फरार अपराधीहरू लुकिछिपी हिँड्ने गरेको पाइएपछि प्रहरीले कडाइ गरेको हो। विभिन्न हिंसाजन्य घटनाहरू तथा दुर्व्यवहारका घटनाहरू बढ्न थालेपछि ३७ वटा सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
करिब अढाई महिनायता सेयर बजारमापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१७.३६ अंकले घटेको छ । गत २ वैशाखमा नेप्से परिसूचक २८६६.८७ विन्दुमा पुगेको थियो । त्यसयता बजार उतारचढावबिच ओरालो लागेर शुक्रबारसम्म (१२ असार) आइपुग्दा २६४९.५१ विन्दुमा कायम छ ।
बजार ओरालो लागेसँगै कारोबार पनि खुम्चिँदै गइरहेको छ । २ वैशाखमा १० अर्ब २८ करोड रुपैयाँसम्म पुगेको कुल सेयर कारोबार १२ असारसम्म आइपुग्दा दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित छ । शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँमा सीमित छ । २ वैशाखमा ४८ खर्ब ८९ अर्ब ६० करोड थियो ।
कैलाशमा २० वर्षपछि विवाह गर्ने १० चेली नगद २० हजारसहित सम्मानित
मकवानपुरको विकट कैलाश गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने १० जना चेलीलाई नगदसहित सम्मान गरेको छ । बालविवाह न्यूनीकरण, किशोरी शिक्षामा निरन्तरता र जिम्मेवार सामाजिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘चेली प्रोत्साहन कार्यक्रम’अन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो ।
गाउँपालिकाको १८औँ गाउँसभाको अवसरमा आयोजित विशेष कार्यक्रममा गाउँपालिकाले सम्मानपत्रसहित नगद प्रदान गर्दै १० जना चेलीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नम्बर २ की मुना चेपाङ, वडा नम्बर ४ की शान्तिमाया मुक्तान, वडा नम्बर ६ की सावित्री अधिकारी, वडा नम्बर ९ की संगीता घलान, आरती उप्रेती, सविना बर्तौला र अनिशा थापा तथा वडा नम्बर १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा चार हजार सात सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चार हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजारएक सय रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।