एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख वामपन्थी नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने विशेष कार्यक्रममा ओली, प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनेछिन् । भण्डारी अहिले एमालेको सक्रिय राजनीतिमा छिन् ।
कम्युनिस्ट शक्तिहरूबिच कार्यगत एकता र सम्भावित पार्टी एकताको बहस तीव्र भइरहेका वेला प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिन लागेकाले चासोका साथ हेरिएको छ ।
यद्यपि, पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य राजकुमार राईले नेताहरूको संयुक्त उपस्थिति राजनीतिक सन्देशभन्दा पनि स्वाभाविक संयोग भएको टिप्पणी गरेका छन् ।