मनुष्यको दुःख कसरी हटाउन सकिन्छ भन्ने खोजीमा ऋषिले आफ्नै शरीरलाई प्रयोगशाला बनाई निकालेको उपायको नाम हो आत्मा शब्द । आत्मा शब्द वेदान्तको सार भएकाले धेरै नै महत्वपूर्ण छ । आत्मा शब्दलाई हल्का रूपमा लिएर भ्रमित हुनु भनेको आफ्नो जीवन नै भ्रमित बनाउनु हो । भ्रममा पर्नु भनेको तनाव, बेचैनी र अशान्ति निम्त्याउनु हो ।
खाने, बस्ने, सुन्ने, बोल्ने, सम्बन्ध बनाउने कामकुरालाई संसार भन्छौँ हामी । यस्तो संसार बाहिरी र भित्री दुई प्रकारको हुन्छ । बाहिरी संसार आँखाले देखिन्छ, भित्री देखिँदैन । भित्री संसारलाई मन भनिन्छ । भित्र मनको आकाश छ, जहाँ गतिविधि भइरहेको हुन्छ । त्यो गतिविधिको केन्द्रमा अहं बसेको हुन्छ । अहं अपूर्णताको भाव हो । अहं भनेकै हामी जीव नै हौँ ।
अहं दुई कुराले बनेको हुन्छ । एउटा हो आमाको गर्भदेखि नै रहने मै भाव र अर्को हो समाजको प्रभाव । मै भाव शरीरका पूर्वसंस्कारको निरन्तरता हो । सुरुको मै भावमा पशुहरूको जस्तै देहभाव मात्र अविकसित रूपमा रहेको हुन्छ । पालनपोषण, शिक्षादीक्षालगायत सामाजिक प्रभावले विकसित हुँदै जान्छ मै भाव र अहं बन्छ ।
अहंसँग बुद्धि, मुक्तिको सूक्ष्म चाहना र आत्मावलोकनको क्षमता हुन्छ । यी कुरा पशुमा नहुने हुँदा अहं पशुभन्दा भिन्न छ । तर, गर्भैदेखिको मै भाव, जो पशुवृत्ति हो, त्यो अहंको केन्द्रमा रहेको हुन्छ । यो वृत्तिले अहंसँग भएको बुद्धि दुरुपयोग गरिदिन्छ । पशुजन्य व्यवहार चलाखीपूर्ण तरिकाले गराउनमा बुद्धिको उपयोग गर्न पुग्छ अहं ।
अहिले एउटा देशले अर्को देशको संसाधन कब्जा गर्न क्षेप्यास्त्र प्रयोग गरेका छन् । व्यक्ति व्यक्तिबिच अदालतमा मुद्दा चलेका छन् । सूक्ष्म तर्क अघि सारेर ती कामलाई जायज देखाउने प्रयास गरेका छन् । यो बुद्धि दुरुपयोग गरी चलाखी देखाइएको मात्र हो । व्यवहारतः एउटा पशुले अर्कोको मुखको रोटी छिन्न सशरीर आक्रमण गर्नु जस्तै हो, सारभूत अन्तर छैन ।
सामान्य मनुष्यले मनलाई सर्वेसर्वा मालिक बनाएर सबै कामकुरा गरेको हुन्छ । मनको केन्द्र हो अहं । अहंले जे गर्न भन्छ मनले इन्द्रियहरूलाई त्यही गर्न आदेश दिन्छ । अहंको केन्द्रमा पशुवृत्ति बसेको हुन्छ । त्यो वृत्तिले अहंलाई जे गर्न आदेश दिएको हुन्छ, त्यही गर्न भनेको हुन्छ, अहंले मनलाई । यसरी मानिसले गर्ने कर्मको निर्धारण पशुवृत्तिले गरेको हुन्छ ।
पशुवृत्तिले मुक्ति जानेको हुँदैन, भोग मात्र जानेको हुन्छ । त्यसैले, वृत्तिले अहंलाई भोगतिर मात्र उन्मुख गराउँछ । यही वृत्तिलाई अहं वृत्ति भनिन्छ । अहं वृत्ति सबैखाले वृत्तिको मुहान हो ।
अहंसँग मुक्तिको सूक्ष्म चाहना हुन्छ । मुक्तिको साधन हो बुद्धि । अहंसँग बुद्धि पनि हुन्छ । तर, अहंसँग भएको बुद्धि उसको केन्द्रमा बसेको वृत्तिले कब्जामा लिएर भोगतिर दौडाउँछ । अनि अहंसँग भएको बुद्धि मुक्तिको साधन बन्न पाउँदैन । मुक्ति उपेक्षित रहन पुग्छ । मनको केन्द्रमा रहने अहंसँग मुक्तिको सूक्ष्म चाहना हुने हुँदा मुक्तिसँग मनको गहिरो प्रेम हुन्छ । मन अहंको घर हो । मुक्ति उपेक्षित रहँदा मनसमेत दुखित बनेको देख्छ अहंले । मुक्तिप्रतिको अहंको सूक्ष्म चाहना स्थूल बन्छ र अहं अशान्त र व्याकुल हुन्छ । शान्त हुन भौतिक सुख भोग बढाउँछ । जति भोगे पनि झन् तनाव बढ्छ । किनकि, अहंको असली भोक मुक्ति भएको हुँदा भोगले तृप्ति मिल्दैन । अति भएपछि अहं दुःखको कारण खोज्नतिर लाग्छ । अहंसँग दुःखको कारण खोज्ने क्षमता हुन्छ । त्यो क्षमता हो, आत्मावलोकन । अहंले आफूले आफैँलाई देख्नु आत्मावलोकन हो । आत्मावलोकन अहंको स्वभाव हो ।
अहंले आत्मावलोकनबाट पशुवृत्तिले गडबड गरेको देख्छ र आफू पूरै बदलिन चाहन्छ । अहं पूरापूर बदलिएको अवस्था नै आत्मा हो । अहं बदलिनु भनेको गर्भैदेखिको मै भाव, जो पशुवृत्ति हो, त्यो शून्य हुनु हो । शून्य हुने प्रेरणा मुक्तिको आकांक्षाबाट मिल्छ । शून्य हुने उपाय बुद्धिले बताउँछ । मुक्तिले प्रेम सिकाएर र बुद्धिले बाटो देखाएर अहं स्वतन्त्र हुन्छ पशु वृत्तिबाट । यही नै मुक्ति हो । अहंले म बन्धनमा परेँ भन्ने महसुस गरेपछि मुक्ति मार्गको ढोका एकपछि अर्को स्वतस्फूर्त खुल्छन् ।
अहंको शुद्ध अवस्था नै आत्मा हो । आत्मा आफूले जिएको जीवनको शुद्धताको नाम हो भन्छन् आचार्य प्रशान्त । बुद्ध आत्मा शब्दप्रति मौन रहे । तर, जीवन शुद्ध बनाएर आकाशतिरको यात्रा सुरु गर भनेर शील, समाधि र प्रज्ञाको तीन सिँढी देखाइदिए । निर्गुण, निराकार आत्माको सूक्ष्मताको दुरुपयोग बढेको थियो बुद्धकालीन समाजमा । लोकधर्मले जीवात्माको कहानी खडा गरेर आत्मालाई धर्मसँग जोडेर मनुष्यलाई झन् दुःखमा डुबायो । यो देखेर आत्मा शब्द प्रयोग गरे दुरुपयोग गरिदेलान् भनेर बुद्धले अनात्मा भनेका मात्र हुन् ।
मानव जातिलाई दुःखको बन्धनबाट छुट्कारा दिलाउन ऋषिहरूले करुणाको वशमा परेर निर्गुण आत्माको गुण गाए । मनुष्यले जे कुरा देखे–जानेर मानेको थियो, त्यो आत्मा होइन भन्दै खारेज गरिदिए । सीमित कुरासँग जोडिएर दुःखी हुने हुँदा आत्मा असीमित हुन्छ भने । सीमित कुरासँग तादात्म्य हटाए आनन्दित हुन्छ जीवन । भौतिक कुरासँग नजोडिए अनन्त भइने र अनन्तलाई जान्न नसकिने हुँदा आत्मा अज्ञेय हो भने । अनुपयोगी कुरासँग जोडिनु पाप र मुक्तिका लागि उपयोगी कुरासँग जोडिनु पुण्य हो भने । अहंकार चलायमान कुरासँग नजोडिए आत्मा बन्छ । आदत घर हो, छोडेपछि अनिकेत आत्मा बन्छ । प्रकृतिसँग जोडिनु विकार हो, नजोडिए निर्विकार बन्छ । आत्मा निर्विकार छ । मोह छोडे निर्मोह, ममता छोडे निर्मम, लिप्तता छोडे साक्षी, कामना छाडे निष्काम, बैर छोडे निर्बैर, दृश्य छोडे अगोचर, डर छोडे अभीत, मनोरञ्जन छोडे निरञ्जन भइन्छ । यिनै हामीले सोच्ने कुरा ऋषिहरूले काटिदिँदै आत्मस्थ हुने बाटो देखाए ।
दुःखको कारण द्रष्टा र दृश्य भई द्वेतमा जिउनु हो भन्दै ऋषिहरूले आत्मा अद्वैत हो भनिदिए । वास्तवमा आत्मा भन्ने कुनै चिज हुँदैन । एक शून्यता हो आत्मा । बुद्धले शून्यता मात्र भने । आदि शंकराचार्यले शून्यताभन्दा अघि बढेर शून्यतामा आनन्द छ, त्यो अद्वैत हो भन्दै अद्वैत वेदान्त दर्शन अघि सारे । बुद्ध दर्शन र वेदान्तमा सारभूत अन्तर छैन । अर्थ एउटै निस्कने भिन्न शब्द मात्र हुन् । वेदान्त र बुद्ध दर्शनको लडाइँ नै दुःखसँग छ । दुःखसँग लड्ने दर्शनमा आधारित अवधारणा हो आत्मा । कसैलाई दिव्यता वा अन्य कुरा दिँदैन बुद्ध दर्शन र वेदान्तले केवल मान्यताका पोकाले भरिएको मस्तिष्क खाली गरेर मान्यताको परीक्षण गर भन्छ । अनि मुक्तिको दिशामा जान सघाउने बोध हुन आयो भने स्वस्फूर्त अनुशरण हुन्छ र आनन्द आउँछ । आनन्द नै आत्मा हो । त्यही आत्मा मूल स्वरूप हो मनुष्यको भन्छन् ऋषिहरू ।
समाजमा आत्माबारे भ्रम छ । मृतकको आत्मा जीवितमा उत्रेको हुँदा उठाउन नसकिने बोझ उठाएको, लामो समयसम्म शरीर कमाएर उफ्रिएको भन्ने ठानिन्छ । अनि आत्मा उतार्न झाँक्री बोलाएको, झाँक्रीले फुकफाक गरेर बकाएपछि मृतकको आत्माले छाडेको र बिरामी निको भयो भन्ने कुरा सुनिन्छन् । जान्ने दार्शनिकले त्यस्ता घटनाको कारण आत्मा होइन, दबिएको चेतना फुटेको हो भन्छन् । सामाजिक र सांस्कृतिक मान्यताले विशेषगरी दलित जनजाति र महिलाको अपमान र शोषण गरेको छ । अपमान र शोषण झेलेकाहरूको चेतनाले अन्याय हो, यो सहन हुँदैन भन्छ । विरोध गर्ने वातावरण छैन अनि चेतना दबिन्छ र अन्धविश्वासलाई बहाना बनाएर फुट्छ । धेरै समयदेखि सञ्चय हुँदै आएको त्यो ऊर्जाले ठुलै बोझ पनि उचालिदिन्छ र लामो समय उफारिदिन्छ । जीवन ऊर्जाले सहज प्रवाह पाएन । जीवन सहजै अघि बढ्न नपाउँदाको प्रतिक्रिया हो, त्यस्तो गतिविधि । आत्मा कुनै वस्तु वा एकाइ होइन । आत्माको जन्म र मृत्यु दुवै हुँदैन भन्ने तर्क गर्छन्, आधुनिक दार्शनिकहरू ।