हिमालयन इन्भेस्टमेन्ट बैंकरका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) शैलेश सुवेदीले पदभार ग्रहण गरेका छन् । उनलाई कम्पनीको ४३औँ सञ्चालक समितिले सिइओ नियुक्त गरेको थियो । सिइओ सुवेदीले बिहीबारबाट पदभार सम्हालेका हुन् ।
पुँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी, जोखिम मूल्यांकनलगायत वित्तीय क्षेत्रमा लामो अनुभव, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता भएका सुवेदीको नियुक्तिले कम्पनीको संस्थागत विकास, सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा लगानीकर्तामैत्री सेवाको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।
हिमालयन इन्भेस्टमेन्टले सामूहिक लगानी कोष व्यवस्थापन, निक्षेप सदस्य सेवा, सेयर रजिस्ट्रार सेवालगायतका मर्चेन्ट बैंकिङ सेवामार्फत पुँजी बजारको विकासमा योगदान पुर्याउँदै आएको छ ।