पौडेलले दायर गरेकाे बन्दी प्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग, अनुसन्धान मिसिल झिकाउने आदेश

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

सर्वोच्च अदालतका एकल इजलासका न्यायाधीश श्रीकान्त पौडेलले विष्णुप्रसाद पौडेलको हकमा उनकी श्रीमती दोमाया पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण (ह्याबियस कर्पस) रिट निवेदनमा विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएका छन्। अदालतले बिहीबार जारी गरेको आदेशमा ०८०३१७ नम्बरको रिटमा विशेष अदालत काठमाडौंसहितलाई विपक्षी बनाइएको छ।

अदालतले निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित ०८३ असार १५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

त्यसैगरी, निवेदकमाथिको अनुसन्धानसँग सम्बन्धित सक्कल मिसिल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई आगामी ०८३ असार १६ गतेको पेसीमा अदालतसमक्ष पेस गर्न आदेश दिइएको छ। आवश्यक प्रक्रिया पूरा गरी नियमअनुसार मुद्दाको थप सुनुवाइ हुने अदालतले जनाएको छ।

यसअघि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल तथा अधिवक्ताहरू धर्मराज पौडेल, टीकाबहादुर कुँवर, आभास रेग्मी र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका थिए। 

सुझावित समाचार