- महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो, साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक
- पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड, तर निर्वाचन कमिटीले परिणाम सार्वजनिक नगर्दै पदाधिकारीको धमाधम उम्मेदवारी दर्ता
- ३,८४९ महाधिवेशन प्रतिनिधिमध्ये २,९५९ अर्थात् ७६.८८ प्रतिशतले गरे मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ । स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजासमेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुंगिँदा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।
देशभित्र भएको मतदानको नतिजाअनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्रै होइन, प्रदेश र जिल्ला कमिटीमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छन् । बिहीबार राति सार्वजनिक मतपरिणामअनुसार निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले सबैभन्दा धेरै २,६५६ मत पाएका छन् । अर्थमन्त्रीसमेत रहेका वाग्ले अब फेरि पार्टी उपसभापतिकै दौडमा छन् । उनीपछि कानुनमन्त्रीसमेत रहेकी सोविता गौतमले २,५९४ मत पाएकी छिन् ।
बुधबार राति १२ बजे सुरु भएको मतदान बिहीबार दिउँसो १२:३० सम्म चलेको थियो । खुलातर्फ ६४ र प्रदेश भूगोलतर्फ ३५ गरी ९९ सदस्यका लागि क्रमशः २०४ र १७५ गरी ३७९ जनाले उम्मेदवारी दिएका थिए ।
रास्वपाको कुल केन्द्रीय सदस्य १५८ सदस्यीय बन्नेछ । ९९ निर्वाचित भएर आउनेमा सभापति स्वतः केन्द्रीय सदस्य रहनेछन् । त्यस्तै, ५१ सदस्य सभापतिले मनोनीत गर्नेछन् । सात प्रदेश सभापति पदेन सदस्यका रूपमा आउनेछन् ।
निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा तीन हजार ८४९ प्रतिनिधि सहभागी भएकामा पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चुन्ने निर्वाचनमा दुई हजार ९५९ ले मात्रै मतदान गरेका थिए । यो कुल मतदाताको ७६.८० प्रतिशत मात्रै हो । ८० विद्युतीय मेसिनबाट भोटिङ गराइएकोमा ८९० प्रतिनिधिले मतदान गरेनन् । मतदान प्रक्रियामा भएको ढिलाइका कारण उनीहरू भोट नहाली फर्किएको नेताहरू बताउँछन् ।
नतिजा दिउँसो २ बजे नै सार्वजनिक गर्ने तयारी थियो । तर, प्रवासतर्फको मतदानमा मतभेद हुँदा ढिलाइ भएको थियो । राति ९ बजेपछि मात्रै नतिजा सार्वजनिक गरिएको थियो । तर, प्रवाससहितको नतिजा सार्वजनिक नहुँदा हाल कम मतान्तरमा प्रतिश्पर्धामा रहेका केही सदस्यको अन्तिम नतिजा तलमाथि पर्नसक्ने अवस्था छ ।
पदाधिकारीका लागि दोस्रो चरणमा मतदान : सभापतिमा रवि लामिछाने नै निर्विरोध, अन्यमा कडा प्रतिस्पर्धा
केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ । सभापतिमा रवि लामिछाने नै निर्विरोध भइसकेका छन् भने अन्य १८ पदमा प्रतिस्पर्धा हुँदै छ ।
खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदै छ । खुलातर्फ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ तथा महिलातर्फ सोविता गौतम, डा. तोसिमा कार्की, लिमा अधिकारी, समीक्षा बाँस्कोटा र इन्दिरा रानाबिच प्रतिस्पर्धा हुँदै छ । अर्का एक उपसभापति भने सभापतिले मनोनीत गर्नेछन् ।
सबैभन्दा कडा टक्कर महामन्त्रीमा हुँदै छ । जसमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित विपिन आचार्य, मनीष झा, शिशिर खनाल, प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन् ।
त्यस्तै, सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदै छ । जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असिम शाह र रिमा विश्वकर्मा आकांक्षी छन् । बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनीत गर्नेछन् ।
त्यस्तै, एक वरिष्ठ नेता, एक कोषाध्यक्ष, महिलासहित दुई सहकोषाध्यक्ष, एक प्रवक्ता, महिलासहित तीन सहप्रवक्ता पनि सभापतिले नै मनोनीत गर्नेछन् ।
मतदानबाट आउने पदाधिकारी पनि सर्वसम्मत गराउन बिहीबार दिउँसो सभापति लामिछाने आन्तरिक छलफलमा जुटेका थिए । तर, सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो ।
उम्मेदवारकै असन्तुष्टि
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा उम्मेदवारहरूले आफ्नो नामको क्रमसंख्या तल पारिएकोदेखि नो भोटको व्यवस्था नभएकोसम्मका असन्तुष्टि जनाएका छन् । प्रारम्भिक नामावलीमा भएको क्रमसंख्यालाई छेडखानी गरेर तल पारिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
न अल्फाबेट, न समावेशी, न त फाराम भरेको नम्बरअनुसार भोटिङ मेसिनमा सूची । यस्तो भद्रगोल देखेपछि उनीहरूले प्रश्न उठाएका थिए । सांसद गणेश कार्कीले जालझेल गरेर आफ्नो नाम पछाडि पुर्याइएको गुनासो गरे ।
सांसद आशिका तामाङले ३७ नम्बरमा नाम दर्ता गरेकोमा १०६ नम्बरमा पुगेको भन्दै असन्तुष्टि जनाएकी थिइन् । सांसद यज्ञमणि न्यौपानेले सुरुमै उम्मेदवारी दर्ता गरेको, तर ४२ नम्बरमा पुगेको बताए । ई. रोहन कार्कीले पनि १२ नम्बरमा मनोनयन दर्ता गरेको, तर ३० मा पुगेको भन्दै असहमति जनाएका थिए । त्यस्तै, सांसद टीका संग्रौलाले आफ्नो उपनाम ‘ज्वाला’ हटाइएको भन्दै निर्वाचन आयोगमै उजुरी दिएकी थिइन् ।
पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल
सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गरेका थिए । तर, सफल भएन । सभापति लामिछानेले बिहीबार दिउँसो कसलाई कुन जिम्मेवारी दिएर पदाधिकारी सर्वसम्मत बनाउने भनेर विकल्पहरूमा छलफल गरेका थिए । लामिछानेले उपसभापति स्वर्णिम वाग्लेसँग छुट्टै छलफल गरेर सहमतिको कोसिस गरेका थिए । त्यस्तै, आकांक्षीसँग पनि संवाद गरेका थिए । तर, धेरैले दाबी गरेपछि सभापति लामिछाने लोकतान्त्रिक विधिबाट अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका हुन् । अब एक महिलासहित तीन उपसभापति, एक महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा चुनाव हुनेछ ।