भारतीय तेल रिफाइनरले सस्तो रुसी कच्चा तेललाई प्राथमिकता दिँदा जुन महिनामा भारतले खरिद गरेको कुल तेलको लगभग ५० प्रतिशत हिस्सा रुसी तेल रहेको वित्तीय मिडिया मिन्टले जनाएको छ । जुन महिनामा भारतले गर्ने रुसी कच्चा तेलको आयात मे महिनाको तुलनामा ४० प्रतिशतले बढेको पनि मिन्टले जनाएको छ । योसँगै जुनमा औसतमा प्रतिदिन भारतले २६.६ लाख ब्यारेल रुसी तेल खरिद गर्यो ।
यसअघि फेब्रुअरीमा भारतले रुसी तेल आपूर्ति कम गर्न थालिसकेको थियो । अमेरिकाले रुसी तेल किनेकै कारण भारतीय सामानमाथि अतिरिक्त भन्सार लगाएपछि रुसी तेल आपूर्ति प्रभावित भएको थियो ।
इरान युद्धपछि बढ्न थालेको तेलको भाउ कम गर्न अमेरिकाले रुसी तेल खरिदमा लगाएको प्रतिबन्ध हटाएपछि भारतले पुनः सस्तो दरका रुसी कच्चा तेल आयात बढाउन थाल्यो । भारतले अहिले विश्वव्यापी कच्चा तेलको बेन्चमार्क मानिने ‘ब्रेन्ट’ क्रुड तेलभन्दा रुसी कच्चा तेलमा प्रतिब्यारेल नै चारदेखि पाँच डलर छुट पाइरहेको छ ।