- उज्वेकिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपमा मेसीबाहेक एम्बाप्पेले पनि गोल गरिरहेको बताए
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २३औँ विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत नवप्रवेशी उज्वेकिस्तानविरुद्धको खेलमा म्यान अफ दी म्याच ट्रफी हात पारे । खेलपछि आयोजित पोस्टम्याचमा अन्तर्राष्ट्रिय मिडियासँगको संक्षिप्त कुराकानीमा उनी खुसी र आक्रोशित देखिए । उज्वेकिस्तानविरुद्ध ५–० को फराकिलो जित निकाल्दा उनले दुई गोल गरेका थिए । दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनका कारण उनी दंग थिए ।
अन्तर्राष्ट्रिय मिडियाले रोनाल्डोलाई अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग जोडिएर केही प्रश्न राखेका थिए । ‘मेसीले चालू विश्वकपमा गोल गरिरहेका छन्, तपाईंलाई कस्तो लागिरहेको छ ?’ मिडियाको प्रश्न थियो । प्रत्युत्तरमा रोनाल्डोले भने, ‘विश्वकपमा कसले कति गोल गरिरहेका छन्, त्यसले मलाई कुनै अर्थ राख्दैन ।’
मिडियाकर्मीले रोनाल्डोको उत्तर चित्त बुझाएनन् । उनीहरूले पुनः मेसीलाई जोडेर अर्को प्रश्न राखे, ‘मेसीले विश्वकपमा पाँच गोल गरिसके नि !’ बारम्बार मेसीबारे प्रश्न राख्दा उनी आक्रोशित भए । उनले भने, ‘फेरि तपाईंहरूलाई भन्छु– मेसीबाहेक अरूले पनि गोल गरेका छन् । फ्रान्सका एम्बाप्पेले पनि गोल गरेका छन् ।’ एम्बाप्पेको प्रशंसा गर्दै रोनाल्डो हिँडे । उज्वेकिस्तानविरुद्धको खेलअघि रोनाल्डो चर्को दबाबमा थिए । उनले कंगोसँगको खेलमा पनि गोल गर्न सकेनन् । प्रतिस्पर्धामा गोल अवसर पाउँदा पनि उनी चुकेका थिए । तर, अर्जेन्टिनी कप्तान मेसीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरे, जुन उनको विश्वकपमा पहिलो थियो । त्यसपछि अस्ट्रियासँगको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा सर्वाधिक १८ गोल संख्या पुर्याए । विश्वकपमा मेसी एकपछि अर्को खेलमा चम्किरहँदा रोनाल्डो भने फर्ममा थिएनन् ।
विश्वकपमा मेसीले दुई खेलमा पाँच गोल पुर्याउँदा रोनाल्डो गोलविहीन भइसकेका थिए । यसकारण उनी मिडियादेखि समर्थकबाट समेत आलोचित बन्न पुगे । दबाबबिच उत्कृष्ट प्रदर्शन गरी पोर्चुगललाई जित दिलाउन योगदान गरेका रोनाल्डो मेसीसँग तुलना गर्दा रिसाएको बेलायती एजेन्सीहरूले जनाएका छन् । ‘एक सातामा रोनाल्डोले धेरै दबाब सामना गरेका थिए । उज्वेकिस्तानसँगको प्रतिस्पर्धामा उनको प्रदर्शन सबैको चासोको विषय बनेको थियो,’ बिबिसीले उल्लेख गरेको छ, ‘त्यो दबाब चिर्दै उनले दुई गोल गरे । एक किसिमले उनी फर्ममा आएको देखिन्छ । तर, फुटबलमा मेसी र रोनाल्डोबिचको श्रेष्ठता र प्रदर्शनबारे प्रश्न उठिरहन्छ ।’
लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
विश्वकपमा रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । उनी लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उज्वेकिस्तानविरुद्धको खेलमा उनले दुई गोल गरेका थिए । उनले खेलको छैटौँ र ३९औँ मिनेटमा गोल गरेका हुन् । यद्यपि, दोस्रो हाफमा उनलाई ह्याट्रिकको अवसर थियो । तर, उनले सदुपयोग गर्न सकेनन् ।
यसअघि रोनाल्डोले कंगोविरुद्धको खेलमा मैदान छिर्दै इतिहास बनाएका थिए । ४१ वर्ष १३२ दिनको उमेरमा मैदानमा उत्रिएका रोनाल्डो विश्वकपमा प्लेइनिङ ११ मा पर्ने सबैभन्दा पाका खेलाडी बनेका थिए । सोही खेलमा उनले इटालीका लिजेन्ड पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरे । रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार विश्वकपमा स्थान बनाएका छन् ।
विश्वकपमा उनले १० गोल संख्या पुर्याएका छन् । विश्वकपमा पोर्चुगलबाट सर्वाधिक गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा उनले एक गोल गरेका थिए ।
त्यसपछि २०१० को दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप र २०१४ मा ब्राजिलमा भएको संस्करणमा उनले समान एक गोल गरे । सन् २०१८ मा रसियामा भएको विश्वकपमा उनले स्पेनविरुद्ध ह्याट्रिकसहित चार गोल गरेका थिए । सन् २०२२ को कतार विश्वकपमा उनले एक गोल गरे ।
उज्वेकिस्तानविरुद्ध गोल गरेसँगै रोनाल्डोले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिताको १० खेलपछि गोलको खडेरी तोडे । उनले विश्वकपमा पछिल्लोपटक सन् २०२२ मा कतारमा घानाविरुद्ध गोल गरेका थिए । सो खेलपछि रोनाल्डोले २०२२ को विश्वकपमै उरुग्वे, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र मोरोक्कोविरुद्ध गोल गर्न सकेनन् ।
विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी
उज्वेकिस्तानविरुद्ध गोल गरेपछि रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडीसमेत बने । यसअघि क्यामरुनका रोगेर मिलाले सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध गोल गरेका थिए । त्यतिवेला मिला ४२ वर्ष ३९ दिनका थिए । रोनाल्डोपछि पोर्चुगलकै पेपे सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । पेपे २०२२ को कतार विश्वकपमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्दा ३९ वर्ष २८३ दिनका थिए ।
यसैगरी, रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा बढी गोल गर्ने ६० वर्षअघिको रेकर्ड तोडे । सन् १९६६ मा पोर्चुगलका ओसिबेले नौ गोल गरेका थिए । रोनाल्डोले २३० अन्तर्राष्ट्रिय खेलमा १४५ गोल गरेका छन् ।