चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डिपिआरमा नेपालले दियो सहमति

माछापोखरीमा करिब सात सय मिटर लामो फ्लाई ओभर निर्माण गरिने, बर्खापछि काम सुरु गर्न चीन सरकारसमक्ष नेपालको प्रस्ताव

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

चीनले तयार गरेको चक्रपथ दोस्रो खण्डको स्तरोन्नतिसम्बन्धी प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा नेपालले सहमति प्रदान गरेको छ । चीनले डिपिआरमा आवश्यक छलफल गर्न सडक विभाग तथा परियोजनाका कर्मचारीहरू चीन पुगेर सोमबार फर्किएका छन् । त्यस क्रममा विभागका टोलीले प्रारम्भिक डिपिआरमा सहमति प्रदान गरेका हुन् ।

चीनको सिसिसिसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले यसको डिपिआर बनाएको थियो । नेपालले सहमति प्रदान गरेसँगै अब उक्त कम्पनीले चीन सरकारलाई डिपिआर पेस गर्नेछ । साथै, डिपिआरमा सहमति प्रदान गर्दा नेपालले दिएको सुझावलाई समेत समावेश गर्नेछ । त्यसपछि चीन सरकारले डिपिआरलाई स्वीकृति गरेर निर्माणका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाउनेछ ।

चीनको प्राविधिक तथा आर्थिक सहयोगमा चक्रपथको ८.२ किमि लामो कलंकी–वसुन्धारा खण्ड स्तरोन्नति हुँदै छ । चीनले यसमा ५६ करोड ६० लाख चिनियाँ युआन अर्थात् झन्डै ११ अर्ब नेपाली रुपैयाँ खर्च गर्दै छ । तसर्थ, यसमा चीन आफैँले ठेकेदार कम्पनी छनोट गरेर निर्माणका लागि परिचालन गर्नेछ । यसमा चीनले सम्पूर्ण करसमेत छुट पाउँदै छ । काम सम्पन्न भएपछि चीनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ । निर्माण सुरु भएका चार वर्षमा काम सकिने अनुमान गरिएको छ ।

सडक विभागका एक उच्च अधिकारीले प्रारम्भिक डिपिआरमा सहमति प्रदान गरिएको बताए । ‘चीनकै निमन्त्रणामा विभागको टोली चीन पुगेर आइसकेको छ । त्यस क्रममा उहाँहरूले प्रारम्भिक डिपिआरमा हस्ताक्षर गर्नुभएको छ । यद्यपि, केही प्रस्ताव पनि पेस गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘यद्यपि, करिब–करिब यही नै अन्तिम डिपिआर हो । तर, चीन सरकारले स्वीकृति नगरिसकेको हुनाले अहिलेलाई प्रारिम्भक डिपिआर भनिएको छ । अब चिनियाँ परामर्शदाता कम्पनीले नेपालबाट सहमति प्राप्त भएको भन्ने टिप्पणीसहित डिपिआर त्यहाँको सम्बन्धित मन्त्रालयलाई पेस गर्नेछ । त्यसपछि चीनले त्यो स्वीकृति गरेर त्यसकै आधारमा बिड डकुमेन्ट तयार गरेर टेन्डर आह्वान गर्नेछ । त्यसपछि ठेकेदार कम्पनी छनोट गरेर निर्माणका लागि नेपाल पठाउनेछ ।’

विभाग स्रोतका अनुसार अब डिपिआरका सम्बन्धमा नेपालले थप सहमति दिनुपर्नेछैन । तर, नेपालले प्रस्ताव गरेअनुसार डिपिआर संशोधन भएमा भने त्यो आवश्यक हुन सक्ने स्रोतको भनाइ छ ।

बर्खापछि काम सुरु गर्न चीन सकारात्मक
नेपालले चिनियाँ पक्षलाई यो बर्खापछि निर्माण कार्य सुरु गर्ने प्रस्ताव गरेको छ । बर्खा सिजनका कारण असोजसम्म काम गर्न मिल्दैन । त्यस अवधिमा डिपिआरलाई अन्तिम रूप दिने, ठेकेदार छनोट गर्नेलगायतका प्रक्रिया पूरा गरेर बर्खापछि काम गर्न प्रस्ताव गरिएको छ । त्यसमा चिनियाँ पक्ष सकारात्मक देखिएको स्रोतको भनाइ छ । चीनले सकेसम्म बर्खालगत्तै काम सुरु गर्ने जवाफ दिएको भ्रमणमा उपस्थित एक अधिकारीले बताए ।

‘हामीले बर्खापछि काम गर्न प्रस्ताव गरेका छौँ । त्यसमा चिनियाँ पक्षले हुन्छ, प्रयास गर्छौँ भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सकेसम्म छिट्टै काम गर्ने योजनामा चिनियाँ पक्ष छन् ।’ यता सरकारले पनि आगामी आवमा यस परियोजनाको निर्माण सुरु गर्ने भनेर बजेटमै घोषणा गरेको छ । आगामी आवदेखि यसको निर्माण सुरु हुनेमा सडक विभागका अधिकारीहरू पनि आशावादी छन् ।

माछापोखरी चोकमा झन्डै सात सय मिटर लामो फ्लाई ओभर
चीनले बनाएको डिपिआरअनुसार माछापोखरी चोकमा करिब सात सय मिटर लामो फ्लाई ओभर निर्माण हुनेछ । चक्रपथको पश्चिम दिशाबाट माछापोखरी चोक हुँदै त्रिशूली (उत्तर)तर्फ आवतजावत गर्ने सवारीसाधनका लागि फ्लाई ओभर निर्माण गरिनेछ । अहिले ग्वार्कोमा भनिने गरिएको फ्लाई ओभर प्राविधिक रूपमा ‘ओभर पास’ हो, जहाँ माटोलगायतका पदार्थबाट जमिनमाथि उठाएर पुल बनाइएको छ । तर, माछापोखरी चोकमा भने पिल्लर नै उठाएर फ्लाई ओभर निर्माण गरिनेछ । यस्तै, दोस्र्रो खण्डमा चारवटा यात्रु हिँड्ने आकासेपुल बन्नेछन् । यसैगरी, विभिन्न ठाउँमा अन्डरपास तथा ओभर पाससमेत बनाउने गरी चीनले डिपिआर तयार गरेको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना सात वर्षदेखि अलपत्र थियो ।

पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडकखण्ड विस्तार गर्न चीन र नेपालबिच अनुदान सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । त्यसपछि गत १६ वैशाखमा द्विपक्षीय कार्यान्वयन सम्झौता भएको थियो । अब डिपिआरले अन्तिम रूप पाएपछि चीनले ठेकेदार कम्पनी छनोट गरेर काममा परिचालन गर्नेछ । त्यसको चार वर्षमा काम सकिने अनुमान छ ।

चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबिच सम्झौता भएको थियो । त्यसको निर्माण सुरु गर्न ढिलाइ भएको थियो । सम्झौता भएको सात वर्षपछि निर्माण सुरु हुने संकेत देखिएको छ ।

दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायण गोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धारा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गरिँदै छ । दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचका ३७.५ मिटरमा मुख्य संरचना बन्नेछन् ।

बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । एउटा लेनको चौडाइ ३.५ मिटरको दरमा दुवैतर्फ १४–१४ मिटरको सडक हुनेछ । लेन र डिभाइडर छुट्याउँदा–छुट्याउँदै दुवैतर्फ थप ०.५–०.५ मिटर खण्ड प्रयोग हुनेछ । यसैगरी, दुवैतर्फ २.७५–२.७५ मिटरको फुटपाथ बनाइनेछ ।

फुटपाथपछि दायाँ–बायाँ १.१५–१.१५ मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप ५–५ फिटको फुटपाथ बनाइनेछ ।

सुझावित समाचार