सोमबार १० बजेसम्मको प्रमुख १० खबर

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणको कसुरमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको हो। उनलाई सुर्खेतबाट पक्राउ गरिएको विभागका एक अधिकारीले बताए। 

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएको हो । भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँको सेयर लिएको स्रोतको दावी छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टको कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्तिसमेतको पहिचान गरिएका छन् । त्यसक्रममा पौडेलसमेत देखिएपछि उनलाई पक्राउ गरिएको हो । 

पासपोर्ट छपाइमा १० अर्ब भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, १८ विरुद्ध मुद्दा दायर

विद्युतीय राहदानी (पासपोर्ट) छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमिततामा अख्तियारले १० कर्मचारीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। 

१० अर्ब १३ करोड बिगो कायम गरी मुद्दा दायर भएको हो। यसमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अर्यालसहित १० कर्मचारी प्रतिवादी छन्। त्यस्तै, दुई जर्मन कम्पनीका चार सञ्चालक र ती कम्पनीका दुई नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ। जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मणिन्द्र कुमार मल्ल तथा भेरिडोसका सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको छ। दुई जर्मन कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको बिशेष अदालतकी सूचना अधिकृत पार्वती हितानले जानकारी दिइन्। 

तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवाको हकमा भने प्रमाण नपुगेको भन्दै आयोगको बैठकले मुद्दा नचलाउने निर्णय गरेको छ। उनको हकमा छुट्टै अनुसन्धान गर्ने निर्णय भएको आयोगका एक अधिकारीले बताए। 

रास्वपा महाधिवेशन : आजका लागि बन्दसत्र स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आजका लागि तोकिएको बन्दसत्र स्थगित भएको छ।

महाधिवेशन प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा र परिचयपत्र वितरण हुन नसक्दा आज बन्दसत्र हुन नसकेको हो। बन्दसत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

भोलि बिहान ७ बजेपछि बन्दसत्र सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

बारामा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा आइतबार भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। मोटरसाइकलले सडक पार गर्दै गरेका एक पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकसहित तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गरिरहेका एक पैदलयात्रुलाई तीव्र गतिमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै युवक र पैदलयात्री गम्भीर घाइते भएका थिए।

विशिष्ट संरचनाका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समितिका कर्मचारी तीन महिनादेखि तलबविहीन भएका छन्। समितिको नेतृत्व रिक्त रहेकाले तलब रोकिएको हो। 

समितिमा ४५ जना स्थायी कर्मचारी छन्। कार्यकारी निर्देशन नहुँदा समितिकै कर्मचारीलाई विगतमा आर्थिक अधिकार दिइने गरिएको थियो। तर, त्यो अधिकार कसैलाई पूर्वाधार विकास मन्त्रालयले नदिएकाले पनि समस्या भएको हो। 

पूर्वपरराष्ट्रमन्त्री देउवाविरुद्ध छुट्टै अनुसन्धान गर्ने अख्तियारको निर्णय

विद्युतीय राहदानी छपाइसम्बन्धी अनियमिततामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध छुट्टै अनुसन्धान गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। आयोगले सोमबार १० कर्मचारी, चार जर्मन नागरिक, दुई कम्पनी र त्यसका दुई नेपाल प्रतिनिधिविरुद्ध मात्र मुद्दा चलाउने निर्णय गरेको हो। 

बेलायती प्रधानमन्त्री स्टारमरद्वारा राजीनामा घोषणा

आफ्नै पार्टीका सांसद र मन्त्रीहरूको दबाबपछि बेलायती प्रधानमन्त्री केयर स्टारमरले पदबाट राजीनामा घोषणा गरेका छन्। १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासबाट सम्बोधन गर्दै स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने बताएका बिबिसीले जनाएकाे छ।

आगामी आमनिर्वाचनमा नेतृत्व गर्न आफ्नो क्षमतामाथि पार्टीले प्रश्न उठाएको बताउँदै उनले भने, ‘त्यस प्रश्नमा मैले मेरो संसदीय दलको जवाफ सुनेको छु, र म त्यो जवाफलाई सहर्ष स्वीकार गर्दछु।’

मनसुन थप सक्रिय : कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनीको पूर्वी भूभागसम्म फैलियो

नेपालमा यस वर्षको मनसुन प्रणाली क्रमिक रूपमा देशका अन्य भूभागमा फैलिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘मनसुन आगमन बुलेटिन–२’ अनुसार मनसुनी प्रणाली आज सोमबार थप अगाडि बढेको हो।

महाशाखाका अनुसार हाल यो प्रणाली कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकीका केही भूभाग र लुम्बिनीका पूर्वी भूभागको थोरै स्थानमा प्रवेश गरिसकेको छ। यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी गत ५ असारमा कोशीमा भित्रिएको थियो।

स्टन्ट र सस्तो राजनीतिक खपतका लागि पौडेललाई पक्राउ गरियोः एमाले

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउको नेकपा(एमाले)ले भर्त्सना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै यसलाई एमालेमाथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार भनेका छन्। उनले भनेका छन्, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।’ 

सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतमा पक्राउ गरेको हो। बिचौलिया दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएपछि विभागले उनलाई पक्राउ गरेको हो। सस्तो ’स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि पौडेललाई बदनियतपूर्वक गिरफ्तार गरिएको एमालेको टिप्पणी छ । 

पासपोर्ट छपाइमा अनियमितताः यी हुन् १८ प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा १० अर्ब अनियमितता भएको निष्कर्षसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जसमा १० जना परराष्ट्रका कर्मचारी छन्। 

सुझावित समाचार