बारामा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा आइतबार भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। मोटरसाइकलले सडक पार गर्दै गरेका एक पैदलयात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकसहित तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गरिरहेका एक पैदलयात्रुलाई तीव्र गतिमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै युवक र पैदलयात्री गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर, उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये मोटरसाइकल चालक र पछाडि सवारको पहिचान खुलेको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौंको टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका पैदलयात्रुको भने हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइएको तथा आफन्तको खोजी भइरहेको जनाइएको छ।

मृतकहरूको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाका लागि बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

स्थानीयवासीका अनुसार छातापिपरा चोक वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत व्यस्त सडक खण्डमा पर्ने भएकाले यहाँ तीव्र गति, ट्राफिक नियमको बेवास्ता तथा पैदलयात्रुको असावधानीका कारण बेला–बेलामा दुर्घटना हुने गरेको छ। यस घटनाले सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता पुनः औँल्याएको छ।

सुझावित समाचार