राजनीतिक विश्लेषक कृष्ण पोखरेललाई ३ प्रश्न

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

रास्वपाको जारी पहिलो महाधिवेशनले कस्तो नेतृत्व छान्लाजस्तो लाग्छ ? 
पदाधिकारीमा गरम, नरम र ‘मोडरेट’ गरेर सबैलाई समेटेर जान खोज्लान् । धेरै पदमा अहिलेकै नेताले निरन्तरता पाउने सम्भावना छ । सभापतिमा रवि लामिछाने आउलान् । प्रधानमन्त्री बालेन वरिष्ठ नेता नै रहलान् । अरू पनि नेता पुरानै पदमा दोहोरिने सम्भावना देख्छु म । त्यसबाहेक अन्य पार्टीबाट आएका नेताहरूलाई मिलाएर लान जोड देलान् । मनोनयन गर्ने भन्ने कुरा त्यसैका लागि होला । 

महाधिवेशनपछि पार्टीको विचार वा सरकारको आगामी दिशामा परिवर्तनको सम्भावना छ ? 
यसअगाडि उनीहरूप्रति विभिन्न शंका–उपशंका थियो । जस्तो, राजा फर्काउँछन् कि भन्ने वा संघीयता र धर्मनिरपेक्षजस्ता उपलब्धिविरुद्ध लाग्छन् कि भन्ने । तर, उनीहरूले महाधिवेशनअघि नै वर्तमान संविधानमा टेकेरै अघि बढ्ने भनेर संशय ‘क्लियर’ गरेका छन् । विचार त अहिलेकै कायम रहला । सरकारको दिशा परिवर्तनको पनि सम्भावना छैन । पहिले सानो दल रास्वपामा बालेन मिसिएपछि हुरीजस्तो आयो । त्यसैले पार्टीले बालेनलाई सरकार सञ्चालनमा कुनै हस्तक्षेप नगर्ला । 

पार्टी स्थापनापछिको पहिलो महाधिवेशनका लागि चितवन नै किन  छानियोजस्तो लाग्छ ? 
यसमा पार्टीका संस्थापक सभापति रविप्रति चितवनले देखाएको विश्वासले भूमिका खेलेको हुनुपर्छ । चितवनबाट पहिलो चुनावमा रविले अभूतपूर्व मत पाए । पछि नागरिकता मुद्दामा संसद् पद गुमेपछि पनि उनीमाथि अन्याय भएको ठानेर मुद्दा सल्टिएपछि थप ठुलो मत दिएर पठाए । चितवनका मतदाताले पार्टी र नेतालाई संकटमा पनि पत्याएकाले त्यही महाधिवेशन गरिएको हुन सक्छ । 

सुझावित समाचार