एकै संस्करण आठ ह्याट्रिक
सन् १९५४ स्विट्जरल्यान्डमा भएको विश्वकपमा कुल आठ ह्याट्रिक भएको थियो । कुनै संस्करणमा यति धेरै ह्याट्रिक पहिलोपटक भएको थियो । तत्कालीन विश्वकपमा पहिलो ह्याट्रिक हंगेरीका सन्डोर कोक्सिसले दक्षिण कोरियाविरुद्ध गरेका थिए । यही संस्करणले उनले बेस्ट जर्मनीविरुद्ध दोस्रो ह्याट्रिक पूरा गरेका हुन् । यस्तै, अस्ट्रियाका एरिक प्रोप्स्ट, उरुग्वेका कार्लोस बोर्गस, टर्कीका बुरहान सार्गिन, बेस्ट जर्मनीका म्याक्स मोरलक, अस्ट्रियाका थोओडर बंगर र स्विट्जरल्यान्डका जुसेफ हुगोले ह्याट्रिक पूरा गरेका थिए ।
एकै खेलमा पाँच गोल
फिफा विश्वकपमा एकै खेलमा सर्वाधिक पाँच गोल गर्ने खेलाडी हुन् ओलेग सलिन्को । रसियाका यी खेलाडीले सन् १९९४ को विश्वकपमा अफ्रिकन टोली क्यामरुनविरुद्ध कीर्तिमान बनाएका थिए । उनी युक्रेनी बुबा र रसियन आमाबाट जन्मिएका थिए । यही विश्वकपमा सलिन्को र बुल्गेरियाका हृष्टि स्टोइकोभले समान सर्वाधिक ६ गोल गरेका थिए । तर, समूह ‘बी’मा एक मात्रै खेल जितेको रसिया नकआउट चरणमा भने पुग्न सकेन । यो विश्वकप जित्दै ब्राजिलले आफ्नो खातामा चौथो ट्रफीको नाम लेखाएको थियो । इटाली भने दोस्रो भएको थियो ।
एकै विश्वकपमा १३ गोल
फिफा विश्वकपको एकै संस्करणमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टेनसँग रहेको छ । सन् १९५८ स्विडेनमा भएको विश्वकपमा जस्टले ६ खेलमा १३ गोल गरेका थिए । तर, यो विश्वकपमा फ्रान्स मात्र तेस्रो भयो । ब्राजिलले पहिलोपटक विश्वकप जितेको यही विश्वकपमा हो । १३ गोल गरेका जस्ट भने सर्वाधिक गोलकर्ता चुनिएका थिए ।