व्यस्त जीवनशैलीमा माइन्डफुलनेसको अभ्यास

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

आजको व्यस्त जीवनशैलीमा तनावले मानिसको मानसिक मात्र होइन, शारीरिक स्वास्थ्यलगायत सम्पूर्ण दैनिकीमा पनि असर पुर्याइरहेको हुन्छ । तनावको असर वयस्क तथा वृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिमा देखिन सक्छ । दैनिक जीवनका विभिन्न दबाब र चुनौतीका कारण मानिसले असहजता महसुस गर्दा तनाव उत्पन्न हुने सम्भावना बढ्छ । त्यसैले, अभिभावकले बालबालिकाको शारीरिक विकाससँगै मानसिक अवस्थाप्रति पनि ध्यान दिन आवश्यक छ ।

हामी प्रायः आफ्नो वरिपरि भइरहेका घटनाक्रम वा विगत र भविष्यका चिन्तामा अल्झिने गर्छौं । यस्ता सोचले अनावश्यक तनाव सिर्जना गर्न सक्छ । माइन्डफुलनेस भनेको वर्तमान समयमा पूर्ण रूपमा उपस्थित भई आफ्नो अनुभव र भावनालाई सचेत ढंगले महसुस गर्ने अभ्यास हो । यसले मानिसलाई वर्तमानमा केन्द्रित रहन सहयोग गर्दै नकारात्मक सोचबाट टाढा राख्न मद्दत गर्छ ।

थुप्रै अध्ययनले माइन्डफुलनेसलाई लाभदायक मानसिक स्वास्थ्य अभ्यासका रूपमा निष्कर्ष निकालेका छन् । मानसिक स्वास्थ्यमा मात्र होइन, शारीरिक रूपमा पनि यसको फाइदा छ । 

माइन्डफुलनेसले व्यक्तिलाई आफ्नो मन, भावना र व्यवहारप्रति सचेत बनाउँदै वर्तमानमा जिउन कला सिकाउँछ । विभिन्न अध्ययनले यसलाई मानसिक स्वास्थ्य सुधारका लागि प्रभावकारी अभ्यासका रूपमा स्वीकार गरेका छन् । यसको लाभ मानसिक स्वास्थ्यमा मात्र सीमित नभई शारीरिक स्वास्थ्यमा पनि देखिन्छ ।

माइन्डफुलनेसले चिन्ता र अवसाद कम गर्न, प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन, पीडा व्यवस्थापनमा सहयोग पुर्याउन वा अस्वस्थ बानी र लतबाट मुक्त हुन मद्दत गर्न सक्छ । यसका साथै यसले अनिद्राको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न र मस्तिष्कको कार्यप्रणालीमा सकारात्मक प्रभाव पार्न पनि सहयोग पुर्याउँछ । 

तनाव व्यवस्थापनका लागि पर्याप्त निद्रा, सन्तुलित तथा पोषणयुक्त आहार, नियमित व्यायाम, ध्यान र सामाजिक सम्बन्धलाई सुदृढ बनाउनु महत्वपूर्ण मानिन्छ । यस्ता अभ्यासले व्यक्तिलाई जीवनका चुनौतीपूर्ण परिस्थितिसँग सहज रूपमा अनुकूलन गर्न र मानसिक रूपमा सशक्त बन्न सहयोग गर्छन् ।

माइन्डफुलनेसले यी कुराबाट अलग राख्छ  
माइन्डफुलनेसले मानिसलाई अनावश्यक विचार र मानसिक विचलनबाट अलग राख्न मद्दत गर्छ । हामी सधैँ माइन्डफुल अर्थात् जागरुक अवस्थामा रहन प्रयास गर्नुपर्छ । जागरुक रहनका लागि जीवनमा जे गरिरहेका छौँ, त्यसलाई साक्षीभावका साथ अनुभव गर्न आवश्यक हुन्छ ।

धेरैजसो अवस्थामा हामी एउटा काम गरिरहेका हुन्छौँ, तर हाम्रो सोच भने विभिन्न विषयतर्फ दौडिरहेको हुन्छ । यसले एकाग्रता भंग हुन्छ र गरिरहेको काममा अपेक्षित सफलता प्राप्त गर्न कठिन बनाउँछ । यही कारणले माइन्डफुलनेसको आवश्यकता महसुस हुन्छ । आजको व्यस्त र परिवर्तनशील जीवनशैलीका कारण मानिसको जीवनमा तनाव, डिप्रेसन तथा एन्जाइटीजस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । तर, माइन्डफुलनेसको अभ्यास गर्न थाल्यो भने सहज हुँदै जान्छ । यदि हामीले माइन्डफुल हुन सिक्यौँ भने त्यसले ध्यान अभ्यास गरेजस्तै सकारात्मक प्रभाव दिन सक्छ ।

(गौतम, योग प्रशिक्षक हिमालय वेलनेस स्टुडियोमा कार्यरत छन्)

सुझावित समाचार