सजिलो छैन सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्न

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण
  • सार्वजनिक स्थानमा धूम्रपान हटाउने र देशमा धूम्रपान गर्नेको संख्या घटाउने लडाइँ जित्न सोचेजस्तो सहज छैन

गत साता मैले सांघाईमा छिमेकको एक सैलुनमा कपाल काट्दै थिएँ । त्यही वेला अर्का ग्राहक सैलुनभित्र पसे र नजिकैको सोफामा बसे । गोजीबाट एउटा चुरोटको बट्टा झिकेर एउटा खिल्ली सल्काए । उनी र मबिचको दूरी मुस्किलले चार मिटर हुँदो हो । उनको गतिविधि जोकोहीलाई पनि निकै झर्कोलाग्दो थियो । विश्व सुर्तीजन्य पदार्थ निषेध दिवस मनाएको साता दिनपछि सो घटना भएको थियो । पछिल्ला सातामा म आफन्तलाई भेट्न सांघाई नम्बर १० पिपुल्स अस्पतालमा कम्तीमा पाँचपटक गएको छु । त्यहाँ हुँदा मैले केही धूम्रपान गर्नेहरूले खुलेआम अस्पतालको सिँढीमा चुरोट तानेको देखेँ ।

अनि यो सांघाई हो, जुन देशकै सबैभन्दा कडा धूम्रपानविरोधी नियम भएको सहरका रूपमा चिनिन्छ । सांघाईको नियमअन्तर्गत धेरैजसो भित्री सार्वजनिक स्थानमा मात्र नभई बाहिरी बस स्टप, युयुआन गार्डेन, बुन्ड, सिन्टिआन्डी र नान्जिङ रोड पेडेस्ट्रियन मलजस्ता प्रमुख पर्यटकीय केन्द्रमा पनि धूम्रपान निषेध गरिएको छ ।

धेरैजसो अन्य चिनियाँ सहरको अवस्था अझ खराब छ । देशको सबैभन्दा ठुलो सुर्तीजन्य उत्पादन गर्ने क्षेत्र दक्षिण–पश्चिम चीनको युनान प्रान्त, त्यस्तै खराबमध्येको एक हो । गत वर्षको अन्त्यतिर प्रान्तभर दुई महिनाको ड्राइभिङ भ्रमणका क्रममा मैले सार्वजनिक स्थानमा गरिने धूम्रपान निकै ठुलो समस्या भएको पाएको थिएँ । अहिलेसम्म, चीनको राष्ट्रिय जनकांग्रेसले सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने राष्ट्रिय कानुन बनाएको छैन । धूम्रपान प्रतिबन्धसँग सम्बन्धित धेरैजसो नियम प्रायः स्थानीय सरकारले नै बनाएका हुन् ।

धूम्रपानका स्वास्थ्य जोखिम व्यापक रूपमा परिचित छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सुर्तीजन्य पदार्थको प्रयोग मुटु र श्वासप्रश्वाससम्बन्धी रोग, बिसभन्दा बढी विभिन्न प्रकारका क्यान्सर र धेरै अन्य कमजोर पार्ने स्वास्थ्य अवस्थाका लागि प्रमुख जोखिमको कारक हो । प्रत्येक वर्ष, विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगबाट ७० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ । यसमा चीनमा लगभग ३० करोड धूम्रपान गर्नेमध्ये लगभग १० लाखको मृत्यु हुन्छ, जुन विश्वमा अहिलेसम्मकै सबैभन्दा ठुलो संख्या हो । डब्ल्युएचओले यो पनि चेतावनी दिन्छ कि दोस्रो व्यक्तिबाट हुने धूम्रपानको सम्पर्कले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ र प्रत्येक वर्ष विश्वभर यस्तो माध्यमबाट हुने धूमपानबाट १६ लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरिएको छ ।

चीनमा चुरोटका प्याकेटमा स्वास्थ्य खतराबारे राखिने चेतावनी केबल शब्दजन्य मात्र हुन्छ । तर, अन्य धेरै देशमा प्याकेटमा अनिवार्य ग्राफिक चेतावनी पनि देखाइन्छ, जुन चीनमा अझै पनि आवश्यक मानिँदैन । डब्लुएचओका अनुसार सुर्तीजन्य प्याकेटमा राखिने स्वास्थ्य चेतावनी (विशेषगरी शब्द र तस्बिर संयोजन) सुर्तीजन्य प्रयोगको खतराबारे जनचेतना बढाउन र सुर्तीजन्य वस्तुको सेवन कम गर्न सबैभन्दा लागत–प्रभावी र शक्तिशाली औजारमध्ये एक हो ।

केही देशमा चुरोटका प्याकेटमा प्रयोग गरिएका ग्राफिक डिजाइन साँच्चै विचित्र छन्, जसमा कालो र क्यान्सरयुक्त फोक्सो, सडेका दाँत र भेन्टिलेटरमा अस्पतालको ओछ्यानमा रहेका बिरामीजस्ता चित्रण छन् । सांघाईमा धूम्रपानविरुद्ध बलियो जनभावना छ । सांघाई देशभक्त स्वास्थ्य अभियान समितिले यस वर्षको मार्चमा जारी गरेको ‘०२५ सांघाई सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ नियन्त्रण श्वेतपत्र’अनुसार ९८.२ प्रतिशत सांघाई बासिन्दाले घरभित्र हुने धूम्रपानमा पूर्ण प्रतिबन्धको समर्थन गर्छन् ।

चाइना डेलीले रिपोर्ट गरेको छ कि चीनका १६ वटा जनस्वास्थ्य, सुर्तीजन्य नियन्त्रण र वातावरण संरक्षण समूहको गठबन्धनले सबै परम्परागत रेल र रेलवे प्लेटफार्ममा राष्ट्रव्यापी धूम्रपान प्रतिबन्धको आह्वान गरेको छ । आंशिक प्रतिबन्धले अब यात्रुलाई दोस्रो व्यक्तिले धूमपान गर्दा निस्कने धुवाँबाट जोगाउन पर्याप्त छैनन् भन्ने तर्क गर्दै यस्तो आह्वान गरेको हो । चीनले विगत केही दशकमा आफ्नो सामाजिक र आर्थिक रूपान्तरणमा अभूतपूर्व प्रगति हासिल गरेको छ । तैपनि, सार्वजनिक स्थानमा धूम्रपान हटाउने र देशमा धूम्रपान गर्नेहरूको संख्या घटाउने लडाइँमा अझै थप प्रयास आवश्यक छ ।

(विइहुवा चाइना डेलीका स्तम्भकार हुन्)
चाइना डेलीबाट

सुझावित समाचार