महराको आरोह–अवरोह : ४८ वर्षे सक्रिय राजनीति उत्तरार्द्धमा विवादित हुँदै विश्राम

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बिहीबार उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । ‘एट्रोफी’सम्बन्धी समस्याबाट पीडित भएकाले सक्रिय राजनीति छाडे पनि नेकपाको साधारण सदस्यको रूपमा रहने उनको भनाइ छ ।

‘केही वर्षयता म एट्रोफीसम्बन्धी रोगबाट पीडित छु । नसा र मांसपेशी क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ,’ महराले बिहीबार जारी गरेको वक्तव्यमा छ ।

४८ वर्षे राजनीतिक जीवनमा महराले कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रा भोगेका छन् । नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीको नेताका रूपमा उनले भूमिका निर्वाह गरेका छन् । ‘मैले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको छु । यो यात्रामा मैले असंख्य साथी, जनता र परिवारको माया, विश्वास र सहकार्य प्राप्त गरेको छु, जसप्रति म सदैव कृतज्ञ रहनेछु,’ महराले स्मरण गर्दै भनेका छन् ।

०३५/३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका महरा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्षसमेत भएका थिए । 

नेकपा नेता झक्कु सुवेदी महराले संगठन निर्माण र विस्तारदेखि राष्ट्रिय राजनीतिमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । महराले पढाएका धेरै विद्यार्थी अहिले राजनीतिमा सक्रिय छन् । तिनैमध्येका सुवेदी पनि एक हुन् । ‘उहाँ पार्टीका कार्यक्रममा सहभागी नभएको पनि लामै समय भयो । पछिल्लोपटक रोल्पामा चुनावी सभामा जानुभएको थियो । लामो समयदेखि बिरामी हुनुहुन्छ । रोल्पामा संगठन निर्माण र विस्तारमा उहाँको प्रमुख भूमिका छ । कम्युनिस्ट आन्दोलनमा उहाँले खेलेको भूमिका सर्वविदितै छ । उहाँलाई सात वर्षदेखि सन्चो छैन । जतिवेला मुद्दा लाग्यो, जेल जानुभयो, त्यस वेलादेखि उहाँको स्वास्थ्य बिस्तारै बिग्रँदै गयो । विभिन्न केस लागेर उहाँलाई पेलेकोपेल्यै गरेको कुरा दुनियाँलाई थाहै छ,’ सुवेदीले भने ।

संसदीय यात्रा र विवाद
०४८ को आमनिर्वाचनमा महराले रोल्पा २ बाट जनमोर्चा नेपालका तर्फबाट निर्वाचित भएर संसदीय यात्रा तय गरेका थिए । ०५२ मा माओवादीले जनयुद्ध सुरु गर्दा उनी पनि भूमिगत भए । जनयुद्धकालमा महरा ‘अमरसिंह’ नामबाट परिचित थिए । तत्कालीन सरकार र नेकपा (माओवादी) बिच शान्ति वार्ता हुँदा माओवादीको तर्फबाट महराले दुईपटक संयोजक र एकपटक सदस्यको रूपमा भूमिका निर्वाह गरे । तत्कालीन माओवादी र सरकारबिच भएको विस्तृत शान्ति सम्झौतामा महराले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि महरा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बनेका थिए । ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा महरा सभासदमा निर्वाचित भएका थिए । 

०६५ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि महरा सञ्चारमन्त्री बनेका थिए । ०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा महरा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । ०७३ मा तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । ०७४ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा महराले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

०७४ मा महरा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित महराले संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । यौन दुर्व्यवहार प्रकरणमा अदालतले महरालाई सफाइ दिएको छ । तर, त्यही प्रकरण महराको राजनीतिमा ओरालो यात्रा बन्यो । अदालतबाट सफाइ पाए पनि उनको सार्वजनिक छवि र राजनीतिक प्रभावमा असर गरिरह्यो । 

पछिल्लो समय महरा विभिन्न प्रकरणमा विवादमा मुछिएका थिए । सुन तस्करी प्रकरणमा उनी पटक–पटक पक्राउ पर्दै रिहा हुँदै गरेका छन् । भेपमार्फत सुन तस्करी गरेको अभियोग उनीमाथि छ । यसअघि ०६७ मा चिनियाँ नागरिकसँग ५० करोड ‘चन्दा’ मागेको ‘टेपकाण्ड’ सार्वजनिक भएपछि महरामाथि प्रश्न उठेको थियो । तर, त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
 

See More On

सुझावित समाचार