प्रहरीलाई पोसाकबापत नगद नै दिने तयारी

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण
  • गृहमन्त्री सुधन गुरुङले सदनमा भने– यसपालि जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र उहाँहरूले आफैँ खरिद गर्ने भन्ने हामीले सोच बनाएका छौँ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ । पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी सुरु गर्न लागिएको हो । 

गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षदेखि प्रहरीलाई नगद उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार संसद्मा विनियोजित विधेयकमाथिको छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘प्रहरीको पोसाकमा जहिले पनि टेन्डर प्रक्रियामा सेटिङ हुने भन्ने इस्यु धेरै सुनिरहेको अवस्था थियो, त्यही भएर यसपालि जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र उहाँहरूले आफैँ खरिद गर्ने भन्ने हामीले सोच बनाएका छौँ, ताकि कुनै पनि बिचौलियाले यसमा चलखेल नगरोस् ।’ 

हाल प्रहरीले आफैँ पोसाक खरिद गरेर वितरण गर्ने गरेको छ । जुन खरिद हरेक वर्ष विवादमा पर्दै आएको छ । चालू आर्थिक वर्षको खरिदमा पनि ठुलो अनियमितता भएको उजुरीपछि हालसम्म प्रक्रिया रोकिएको छ । विगतमा पनि पोसाकबापत नगद नै दिनेबारे छलफल भएको थियो । 

अत्याधुनिक ड्रोन खरिद गरिने
प्रहरीलाई प्रविधिमैत्री बनाउन आगामी आर्थिक वर्षमा अत्याधुनिक ड्रोन खरिद गरिने भएको छ । गृहमन्त्री गुरुङका अनुसार पेट्रोलिङ सर्च एन्ड रेस्क्यु र हेली लिफ्टिङ ड्रोन खरिदको प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, सीमामा एआइ प्रविधिमा आधारित क्यामेरा जडान गर्न लागिएको छ । सेवालाई प्रविधिमन्त्री बनाउन केस ट्र्याकिङ प्रणाली सुरु गरिएको गृहमन्त्रीले जानकारी दिएका छन् । 

See More On

सुझावित समाचार