बारबर्दियामा अवैध रूपमा नदी उत्खनन गर्ने क्रसर उद्योगबाट ४४ लाख राजस्व र जरिवाना असुल

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

बर्दियाको बारबर्दिया नगरपालिका– २, कुमराघाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई क्रसर उद्योगबाट नगरपालिकाले करिब ४४ लाख रुपैयाँ राजस्व र जरिवाना असुल गरेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने लक्ष्मी बालुवा प्रशोधन उद्योग र नुरी स्टोन एन्ड स्यान्ड वास इन्डस्ट्रिजबाट नगरपालिकाले ४३ लाख ७६ हजार ३८० रुपैयाँ राजस्व र जरिवाना असुल गरेको हो।

कुमराघाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खननको घटना बाहिर आएपछि गत जेठ २८ गते जिल्ला अनुगमन समिति, बारबर्दिया र मधुवन नगरपालिकाले संयुक्त रूपमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा पालिकाले बिक्री–वितरणका खुला नगरेको ठाउँबाट अवैध नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष निकालेको थियो। त्यसको भोलिपल्ट २९ जेठमा बारबर्दिया नगरपालिकाको कार्यपालिका बैठकले कुमराघाटबाट करिब १२ हजार घनमिटर (४३ लाख ७६ हजार ३८० रुपैयाँबराबर)को नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्षसहित रकम असुल गर्न सिफारिस गरेको थियो। 

नदीजन्य पदार्थ उत्खनन गर्नेबाट ३७ लाख ७६ हजार ३८० रुपैयाँ राजस्व र ६ लाख रुपैयाँ जरिवाना तिराएको पालिकाले जनाएको जनाएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने लक्ष्मी बालुवा प्रशोधन उद्योगसँग २३ लाख रुपैयाँ र नुरी स्टोन एनड स्यान्ड वास इन्डस्ट्रिजसँग २० लाख ७६ हजार ३८० रुपैयाँ जरिवाना र राजस्व असुल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अवैध रूपमा नदी उत्खनन गरेको बारेमा बारबर्दिया र मधुवन नगरपालिकालाई कानुनबमोजिम कारबाहीको लागि  प्रक्रिया अगाडि बढाउन भनिएको बताए।

बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले पालिकाले अनुगमनमा क्रममा फेला परेको पाँचवटा एक्स्काभेटरलाई २० हजारका दरले, ३० वटा टिपरलाई १० हजारको दरले जरिवाना र पूर्वस्वीकृतिबेगर प्रवेश गरेर नदीजन्य पदार्थ उत्खननमा दुई लाख रुपैयाँ जरिवाना गराएको बताए। उनले भने, ‘कार्यपालिकाको बैठक बसेर राजस्व संकलन गर्ने र जरिवाना तिराउने निर्णय भएको थियो ।’

पालिकाले जरिवाना र राजस्व तिराएको भए पनि कानुनी व्यवस्थाअनुसार अन्य कारबाहीका लागि बाटो खुला रहेको नगरप्रमुख थारूले जानकारी दिए।

सुझावित समाचार