गैरजिम्मेवार तथा अराजक अभिव्यक्तिको प्रतिस्पर्धामा प्रधानमन्त्री र मन्त्री : सांसद शर्मा

कानुनको परिपालना गर्ने कुरामा सरकार नै गैरजिम्मेवार भएपछि देश कसरी चल्छ ?

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सरकारका प्रधानमन्त्री र  मन्त्रीहरू स्वयं गैरजिम्मेवार तथा अराजक अभिव्यक्तिमा उत्रिएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म विवादास्पद अभिव्यक्ति दिन प्रतिस्पर्धा नै चलिरहेकोजस्तो देखिएको टिप्पणी गरे। उनले पछिल्लो समय अर्थमन्त्रीले संसद्को रोस्टमबाट सांसदहरूलाई ‘तिम्रा देखाइदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ‘खुट्टा भाँच्ने’जस्ता अभिव्यक्ति दिएको उल्लेख गरे।

शर्माले सरकार कानुनको पालना गराउने मात्र नभई स्वयं कानुनप्रति जवाफदेही हुनुपर्ने बताए। ‘संसद्प्रति जवाफदेही हुने कुरा मात्र होइन, कानुनको परिपालना गर्ने कुरामा सरकार नै गैरजिम्मेवार भएपछि देश कसरी चल्छ ?’ उनले प्रश्न गरे।

उनले वर्तमान अवस्थामा दण्डहीनताले प्रश्रय पाइरहेको दाबी गर्दै वनरक्षकलाई थुनेर मात्रै समस्या समाधान नहुने बताए । ‘यदि कुनै सामान्य नागरिकले कसैलाई खुट्टा भाँच्ने धम्की दिएको भए सरकारले के गर्थ्यो ?’ भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागे।

सांसद शर्माले मन्त्रीहरूका विवादित अभिव्यक्तिका कारण देशभर अराजकता फैलिएको आरोप लगाउँदै सरकार संसद्प्रति जवाफदेही बन्न र भएका गल्ती सच्याउन आग्रह गरे।

सुझावित समाचार