स्पेनलाई रोकेपछि रातारात हिरो बनेका भार्डेका गोलरक्षक भोजिन्हा

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण
  • सन् २०२४ को युरो तथा सन् २०१० को विश्वकप विजेतासमेत रहेको स्पेनले गोलरक्षक भोजिन्हाविरुद्ध केही गर्न सकेन । खेल सकिँदा सबैभन्दा खुसी भार्डेका खेलाडी तथा समर्थक रहे । 

धेरैलाई लागेको थियो स्पेनले नवप्रवेशी भार्डेमाथि गोलको वर्षा गर्नेछ । अघिल्लो दिन चारपटकको विजेता जर्मनीले कुराकाओमाथि ७–१ को सानदार जित निकालेपछि स्पेनले पनि यस्तै नतिजा निकाल्ने अनुमान गरिसकेको थियो । पहिलोपटक विश्वकपमा स्थान बनाएको भार्डे प्रतियोगितामा कम रेटिङ परेको राष्ट्र थियो । यसको विपरीत स्पेनलाई उपाधि दाबेदार टोलीको वर्गमा थियो । फुटबल विश्लेषकहरूले यसैकारण स्पेनसँगको खेलमा भार्डेले खराब नतिजा व्यहोर्नेछ । 

निर्धारित तथा इन्जुरी समय सकिँदा मैदानमा प्रतिस्पर्धामा एक खेलाडी हिरो भए । जसको चर्चा अहिले विश्वभरिका चर्चित अन्तर्राष्ट्रिय मिडियाहरूले गर्दै थाकेका छैनन् । अमेरिकाको एटलान्टा रंगशालामा भार्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले स्पेनविरुद्ध अस्वाभाविक प्रदर्शन गरेका थिए । खेल सकिएपछि रंगशालामा उपस्थित भएका सबै मिडियाहरूले उनीतर्फ फोकस बनाए । मिडियाकर्मी अगाडि पुग्दा उनको आँखा रसाएको थियो । स्पेनजस्तो बलियो राष्ट्रविरुद्ध सानदार प्रदर्शन गरेपछि भोजिन्हा हिरो नै बने । 

उनी हिरो हुनुका कारण छ । त्यत्तिकै यस्तो दर्जा दिइएको होइन । उनले फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा स्पेनलाई हायलकायल बनाउँदै गोलरहित बराबरीमा रोक्न सफल भए । युरोकपकै शक्तिशालीसँगै सन् २०२४ को युरो तथा सन् २०१० को विश्वकप विजेतासमेत रहेको स्पेनले गोलरक्षक भोजिन्हा विरुद्ध केही गर्न सकेन । खेल सकिँदा सबैभन्दा खुसी भार्डेका खेलाडी तथा समर्थक थिए । 

एक किसिमले गोलरहित नतिजा भार्डेको नजरमा अविस्मरणीय भने स्पेनका लागि खराब थियो । विश्वकपको डेब्यु खेलमै स्पेनलाई रोक्दै एक अंक बटुलेको भार्डेले ऐतिहासिक प्रदर्शन गरेको फुटबलविज्ञ बताउँछन् । हुन त प्रतिस्पर्धामा स्पेनले आफ्नो परिचित शैलीअनुरूप भार्डेविरुद्ध खेलेको थियो । लगभग खेल नियन्त्रणमा राखेको स्पेनले पहिलो हाफमा तीनवटा प्रस्ट गोल अवसर पाएको थियो । तर, उसका अगाडि चट्टानझैँ उभिएका गोलरक्षक भोजिन्हा  थिए । भोजिन्हा ले दर्शनीय सेभ गरी स्पेनका स्ट्राइकरहरूलाई निराश बनाए । 

अझ, दोस्रो हाफमा स्पेनका चार गोल प्रयासलाई भोजिन्हा ले विफल बनाए । यसै अकल्पनीय प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याचसमेत भए । म्याच रेफ्रीले अन्तिम हिबसल फुक्दा भार्डेका सबै खेलाडी खेलकै नायक ठहरिएका भोजिन्हा लाई अंकमाल गर्दै खुसी मनाए । उनी पनि साथीहरूसँग स्पेनलाई हराएकै जस्तै बर्डिल्यांग्वेजमै हर्षित मुद्रामा देखिए । उनले संक्षिप्तमा भनेका छन्, ‘यो प्रदर्शन एक किसिमको पागलपन हो । यसलाई क्रेज भन्छु ।’ 

४५ हजारबाट ७.५ मिलियन फलोअर्स
चालू विश्वकपकै सबैभन्दा पाका गोलरक्षक र खेलाडीका रूपमा भोजिन्हा  हुन् । भार्डेल आफ्नो देशमा पनि चर्चित खेलाडीमै पर्छन् । उनी सबै सोसल मिडियामा सक्रिय छन् । प्रत्येक खेलको भोजिन्हा  पोस्ट गर्छन् । सकेसम्म उनी रिप्लाई दिन्छन् । नभए फुर्सदमा त्यसको प्रतिक्रिया दिने बानी भोजिन्हा को छ । स्पेनविरुद्धको खेलअगाडि उनको इन्स्टाग्राममा ४५ हजार फलोअर्स थिए । स्पेनसँगको खेल सकिएपछि केही घण्टाभित्र उनको फलोअर्समा बाढी नै आयो । अहिलेसम्म उनको फलोअर्स ७.५ मिलियन पुगिसकेको छ । अहिले यो रोकिने वाला छैन । सोसल मिडियामा आएका कमेन्ट्समध्ये उनलाई बहादुर गोलरक्षक भनेका छन् । ‘सिंगो स्पेनविरुद्ध एक्लो खेलाडी पहाडझैँ उभिए । युरो तथा विश्वकप विजेताले भोजिन्हा को जीवनकै उत्कृष्ट खेलाडीअगाडि घुँडा टेकेको छ,’ भोजिन्हा को प्रशंसा गर्दै लेखिएको कमेन्ट्स यस्तै छन् । 

विश्वकपमा सहभागीहरूमध्ये भार्डे सानो टापुको राष्ट्र हो । यही सानो राष्ट्रका गोलरक्षक भोजिन्हा ले स्पेनका २७ मध्ये लगभग सातवटा फ्रेममा परेको बललाई क्लियर गरे । यससँगै उनी विश्वकप इतिहासमा क्लिनसिट राख्ने सबैभन्दा पाका गोलरक्षकको दर्जामा उभिएका छन् ।  

आमाको भिसा रकम तिर्न नसकेका गोलरक्षक
स्पेनसँग अंक खोसेपछि भार्डे नकआउटमा पुग्ने सम्भावना कायम राखेको छ । नकआउट चरणमा पुग्दा भार्डेले आफ्नी आमा रंगशालामा उपस्थित भएको हेर्न चाहेको बताएका छन् । भिसा समस्या तथा आर्थिक रूपमा सबल नभएपछि आफूले आमाको भिसा रकम तिर्न नसकेको सुनाए । ‘भिसा समस्या र आर्थिक अभावका कारण आमा अमेरिका आउन सक्नुभएन,’ भावुक हुँदै भोजिन्हा ले भने, ‘बाल्यकालमा हुर्काउने हजुरबुबा–हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक भएँ । आमा भिजाको कारण यहाँ आउन सक्नुभएन । मसँग अमेरिकामा आउन भिसाको रकम थिएन अब नकआउट चरणमा आमालाई हेर्न चाहन्छु ।’ 

यमालको रणनीति पनि असफल 
स्पेनका प्रशिक्षक लुइसले कमजोर प्रतिद्वन्द्वी भार्डेविरुद्ध प्रमुख स्ट्राइकरहरूलाई बेन्चमा राखेका थिए । बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरेका लमिन यमाल र विलियम्स सुरुवात लिस्टमा थिएनन् । प्रशिक्षक लुइसलाई यति विश्वास थियो प्रारम्भिक ११ जना खेलाडी विपक्षीमाथि हाबी हुनेछन् । नभएको पनि होइन । तर, सोमबार राति गोलरक्षक भोजिन्हा  स्पेनअगाडि उभिएका थिए । वर्तमान समयकै युवामध्ये उत्कृष्ट फिनिसर मानिने यमाललाई बाध्य भएर प्रशिक्षक लुइसले मैदानमा पठाए । त्यसको केही समयपछि विलियम्स पनि छिरे । यी दुवै खेलाडीले आफ्नो जादु देखाउन सकेनन् । पाँच लाखभन्दा कम जनसंख्या भएको भार्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले स्पेनका विश्वप्रसिद्ध स्ट्राइकरहरूलाई निराश बनाउँदै गए । 

एक दशकदेखि राष्ट्रिय टोलीमा
भोजिन्हा ले २५ वर्षको उमेरमा मात्र व्यावसायिक फुटबल सुरु गरेका थिए । यो क्रममा उनले रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लब खेले । उनी अहिले पोर्चुगिज क्लब चाभेसमा आबद्ध छन् । उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । 

भार्डेबाट उनले ९० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एक दशकभन्दा बढी राष्ट्रिय टोलीमा आबद्ध भएका उनी महत्वपूर्ण खेलाडी हुन् । भार्डेलाई पहिलोपटक विश्वकपमा छनोट गराउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

– एजेन्सीको सहयोगमा

सुझावित समाचार