सेनेगलको सामना गर्दै फ्रान्स

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दै छ । समूह ‘आई’को पहिलो खेल मंगलबार मध्यराति हुनेछ । अमेरिकाको मेटलाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने योजना छ । २४ वर्षअघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन । त्यसवेलाका प्रमुख खेलाडी डिडिएर अहिले फ्रान्सका प्रशिक्षक छन् ।

सो विश्वकपमा सेनेगलले सनसनीपूर्ण नतिजा निकाली फ्रान्सलाई विश्वकपबाट बाहिर पठाएको थियो । जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकपमा फ्रान्स साबिक विजेताका रूपमा सहभागी भएको थियो । तर, सेनेगललाई कमजोर आँक्दा फ्रान्सले विश्वकपमा खराब रेकर्ड राख्यो । यसकारण फ्रान्सले यसपटक सेनेगलविरुद्ध सजक भएर प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको तयारी फ्रान्सले उत्कृष्ट बनाएको छ । अभ्यास खेलमा फ्रान्सले आइभोरी कोस्टलाई २–१ र उत्तरी आयरल्यान्डमाथि ३–१ को जित निकालेको थियो । अभ्यास खेलअनुसार फ्रान्सको तयारी राम्रो देखिन्छ । प्रशिक्षक डिडिएरले कप्तान केलिएन एम्बाप्पे र ओस्मान डेम्बेलेलाई मुख्य खेलाडीका रूपमा मैदानमा उतार्नेछन् । यी दुवै खेलाडी उत्कृष्ट लयमा छन् । डेम्बेलेले पिएसजीलाई लगातार दुईपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका छन् ।

उत्कृष्ट लयमा फ्रान्स
गत संस्करणको विश्वकपमा एम्बाप्पे निकै छाएका थिए । उनले फ्रान्सबाट ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । एम्बाप्पे र डेम्बेलेसँगै इब्राहिम कोनाटे, विलियम सालिबा, औरेलिय टिचौमेनी, वारेन जाइर एमेरी, मार्कुस थुरामजस्ता अनुभवी खेलाडी फ्रान्समा छन् । सेनेगलले लगातार तेस्रोपटक विश्वकपको अनुभव लिँदै छ । सेनेगल क्वार्टरफाइनलबाट माथि बढेको रेकर्ड छैन । सेनेगल कतारमा भएको विश्वकपमा प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो । सन् २००२ पछि सेनेगल तीन संस्करणमा छनोट हुन सकेन ।

सेनेगल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो । सेनेगल अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो । उसले विश्वकपको तयारी क्रममा पेरु र गाम्बियालाई हराएको थियो । अन्तिम अभ्यास खेलमा सेनेगेलले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो । फिफा वरीयताको १६औँ स्थानमा रहेको सेनेगल तेस्रो वरीयताको फ्रान्सलाई हराउन चाहन्छ । सेनेगलको टिममा साडियो माने, असाने डियाओ, कालिदोउ कोउलीबाली, निकोलस ज्याक्सन, चेरिफ एनडियाये र इद्रिसा गुएयेजस्ता खेलाडी रहेका छन् ।

प्लेयर्स टु वाच

केलिएन एम्बाप्पे (फ्रान्स) 
एम्बाप्पे यसपटक गोल्डेन बुटका दाबेदारमध्ये एक हुन् । गोल्डेन बुट हात पार्न धेरै गोल गर्नुपर्छ । एम्बाप्पेको अगाडि सेनेगल छ । अफ्रिकाकै बलियो टोलीविरुद्ध एम्बाप्पेले कस्तो प्रदर्शन गर्छन् भन्ने प्रश्न छ । २७ वर्षीय एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई पहिलो अवसरमै उपाधि दिलाएका थिए । उनले अहिलेसम्म फ्रान्सबाट ९८ खेलमा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । पिएसजीपछि रियल म्याड्रिड पुगेसँगै उनीमा फरक खेल कौशल वृद्धि भएको छ । एम्बाप्पेले चार वर्षअघिको कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसवेला उनले अर्जेन्टनी कप्तान लियोनल मेसीलाई चुनौती दिएका थिए ।

साडियो माने (सेनेगल)
गत संस्करणमा चोटका कारण मानेले विश्वकप गुमाएका थिए । साउदी प्रो–लिग अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका मानेले फ्रान्सको रक्षापंक्तिलाई चुनौती दिन सक्छन् । उनीसँग लिभरपुल र बायर्न म्युनिखजस्ता ठुला क्लबबाट खेलेको अनुभव पनि छ । ३४ वर्षीय स्ट्राइकर मानेको यो विश्वकप अन्तिम हुन सक्छ । फुटबलबाट सन्न्यास लिनुअघि उनी चालू विश्वकपमा सेनेगललाई राम्रो नतिजा दिलाउने प्रयासमा छन् । फ्रान्सको डिफेन्डरलाई दबाबमा राख्न मानेले चलाखीपूर्ण खेल खेल्नुपर्नेछ । उनलाई निकोलस ज्याक्सन, इलिमान एनडिए, इस्माइल सारजस्ता खेलाडीले साथ दिनेछन् ।

See More On

सुझावित समाचार