फुटबलप्रेमीले भुलेका छैनन् कोलम्बियन डिफेन्डर स्कोबार हत्याकाण्ड

सन् १९९४ को विश्वकपमा अमेरिकासँगको खेलमा कोलम्बियन डिफेन्डर एन्डे«स स्कोबारले आत्मघाती गोल गरे । यसपछि उनलाई गोली हानी हत्या गरियो । यो घटनालार्ई फुटबल इतिहासकै सबैभन्दा रहस्यमयी हत्याकाण्डका रूपमा लिने गरिन्छ ।

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण
फुटबलप्रेमीले भुलेका छैनन् कोलम्बियन डिफेन्डर स्कोबार हत्याकाण्ड

डिफेन्डर तथा मिडफिल्डर एन्ड्रेस स्कोबार (पहेँलो जर्सी)

३२ वर्षअघि अमेरिकाले पहिलोपटक फुटबलकै सबैभन्दा बृहत् प्रतियोगिता विश्वकप आयोजना गरेको थियो । इतिहासमै पहिलोपटक विश्वकप आयोजक राष्ट्र बन्दा अमेरिकाले यसलाई भव्य बनाउन केही कसर बाँकी राखेन । भौतिक पूर्वाधार, होटेलदेखि रंगशालामा खर्चिएको रकम हेर्दा अमेरिका तत्कालीन समयको महँगो आयोजक राष्ट्रका रूपमा देखापर्यो ।

तर, एउटा घटनाले सन् १९९४ को विश्वकप इतिहासकै बिर्सन नसक्ने बन्यो । सम्भवतः अमेरिकन र विश्वभरिका फुटबल समर्थकले त्यो घटना बिर्सन सक्दैनन् । उनीहरूले विश्वकपको आगमन हुँदा कम्तीमा एकपटक कोलम्बियन डिफेन्डर तथा मिडफिल्डरएन्ड्रेस स्कोबारलाई सम्झने गर्छन् । 

फेरि संयोग कस्तो रह्यो भने यसपटक अमेरिका २३औँ संस्करणको मुख्य आयोजक राष्ट्रका रूपमा छ । धेरैजसो फुटबलप्रेमीले स्कोबारको जस्तो नियति यसपटक भोग्न नपरोस् भनी कामना गरेका छन् । किन यस्तो कामना ? एकपटक ३२ वर्षअघि फर्कनुपर्छ । डिफेन्डर स्कोबार कोलम्बियाकै मुख्य खेलाडी थिए । जब डिफेन्समा उनी हुन्थे, उनका साथीहरू ढुक्कका साथ अगाडि बढ्थे । उनहरू भन्थे, ‘डिफेन्समा स्कोबार छ नि ! हामीलाई केको डर ?’

उनै डिफेन्डर स्कोबारबाट अमेरिकाविरुद्ध आत्मघाती गोल भएको थियो । प्रतिस्पर्धामा अमेरिकाले कोलम्बियामाथि २–१ को जित निकाल्यो । अमेरिकन समर्थक जितमा खुसी थिए । उनीहरू खुसी हुनुको कारण थियो । अमेरिका नकआउट चरणमा पुगेको थियो । अर्कोतिर हारले कोलम्बिया प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । 

यही नतिजाले रंशगालामा कोलम्बियन समर्थक निराश देखिए । आत्मघाती गोल गरेका स्कोबार गोलपोस्टको बारमा टाउको समातेर बसेका थिए । उनलाई आफ्नै कारण कोलम्बिया समूह चरणबाट बाहिरिएको भन्ने मनमा लाग्यो । तर, आत्मघाती गोल जानाजान कुनै पनि खेलाडीले गर्दैनन् । एक किसिमले आत्मघाती गोल बाइमिस्टेक हुने हो । तर, त्यसवेला स्कोबारको त्यो आत्मघाती गोललाई फरक रूपमा हेरिएको थियो । 

स्कोबारको आत्मघाती गोल जानाजान भएको कोलम्बियन समर्थकको दाबी थियो । मैदानदेखि होटेल, टे«निङ क्याम्पसम्म स्कोबारलाई दैनिक दर्जनौँ गाली गलौज गरियो । समर्थक स्कोबारविरुद्ध हुँदा टिममेट भने उनकै पक्षमा थिए । 

 नाइट क्लबबाहिर गोली प्रहार
नकआउट चरणमा पुग्न नसकेको कोलम्बियन टोली केही दिन अमेरिकामै बसेको थियो । खेलाडीहरू अमेरिकाको विभिन्न सहरमा घुम्न व्यस्त थिए । स्कोबार भने नाइट क्लबमा रमाइरहेका थिए । दैनिक बाल्यकालका साथीहरूसँग नाइट क्लब जान्थे । एक दिन नाइट क्लबबाट बाहिरिने क्रममास्कोरबामाथि गोली हानियो । 

अज्ञात व्यक्तिले ३८ कालिबर पेस्तोलद्वारा स्कोबारलाई ६ गोली प्रहार गरेका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालमा २६ मिनेटसम्म उपचार चल्यो, तर डाक्टरहरूले बचाउन सकेनन् । अस्पतालले विज्ञप्ति निकाली उनको निधन भएको जानकारी दियो । योसँगै अमेरिका मात्र नभएर पूरै विश्व स्तब्ध भयो ।

‘एक आत्मघाती गोलका कारण स्कोबारको ज्यान न गयो,’ विभिन्न समाचार एजेन्सीले मुख्य हेडिङ बनाएका थिए, ‘एक सच्चा कोलम्बियन समर्थकले आफ्नै फुटबलका उदयमान युवा खेलाडीको हत्या गरे ।’ त्यसवेला कोलम्बिया फुटबल निकै बलियो थियो । छनोट चरणमा अर्जेन्टिनाजस्तो राष्ट्रलाई हराएर अपराजित रही कोलम्बियाले विश्वकपमा स्थान पक्का गरेको थियो । फेरि कार्लोस भाल्डेरामा, फाउस्टिनो एस्प्रिला र फ्रेडी रिन्कनजस्ता खेलाडी समावेश सन् १९९४ को कोलम्बियन टोलीलाई सुनौलो पुस्ताका रूपमा लिइएको थियो । तर, स्कोबारको एक आत्मघाती गोलले सबै कोलम्बियनको सपना तुहिन पुग्यो । 

 ३५औँ मिनेटमा आत्मघाती गोल
त्यसवेला कोलम्बियामा अराजक घटना व्यापक हुने गरेको थियो । तर, यसको प्रभाव फुटबलमा थिएन । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी कोलम्बियामा फुटबल क्रेज बढ्ने उनीहरूको विश्वास थियो । तर, उद्घाटन खेलमा कोलम्बिया रोमानियासँग ३–१ ले पराजित भयो । अर्को खेलमा कोलम्बियाले स्विट्जरल्यान्डमाथि २–० को जित निकाल्यो । अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दा कोलम्बिया नकआउट चरणमा पुग्ने थियो । 

कोलम्बियन समर्थकका नजरमा यो खेलमा ‘गर वा मर’को अवस्था थियो । रोज बाउल रंगशालामा ९१ हजार अमेरिकन दर्शकका अगाडि कोलम्बियाले अमेरिकामाथि दबाब राखेको थियो । खेलको ३५औँ मिनेटमा स्कोबारले आत्मघाती गोल गरे । जोहन हाकेसले आफ्नै डिबक्सभित्र क्रस निकालेका थिए । स्कोबारले हल्का ‘टच’ गरेको बल सिधै पोस्टभित्र छिरेको थियो । भुलवश स्कोबार आत्मघाती गोल गर्न पुगे । सोही राति नै उनले आफ्नी बहिनी मारियासँग कुराकानी गर्दै कोलम्बिया फर्केर समर्थकसँग माफी माग्न चाहेको बताएका थिए । 

‘दाजु स्कोबारले कोलम्बियामा आएर सबैसँग माफी माग्ने भनेका थियो, तर उनको यो चाहना एक सन्की व्यक्तिका कारण पूरा भएन,’ ३२ वर्षअघिको घटना सम्झँदै मारियाले भनिन्, ‘आखिरमा फुटबलमा मेरो दाजुले मात्र आत्मघाती गोल गरेका होइनन् । स्टार खेलाडीले पनि गरेका छन् ।’ बहिनी मारियाले दाजु स्कोबारको आत्मबल बलियो थियो । ‘जीवन यहाँ समाप्त हुँदैन । जतिसुकै कठिन भए पनि हामी फेरि उभिनैपर्छ,’ उनले भनेका थिए । 

अहिले अमेरिकाले सुरक्षा व्यवस्था निकै बलियो बनाएको छ । जो–कोहीलाई अमेरिकामा प्रवेश दिइएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसाको प्रक्रियासमेत फरक बनाएका छन् । विश्वकपमा कुनै अप्रिय घटना नहुन दिन अमेरिकाले विभिन्न राष्ट्रलाई कालोसूचीमा राखेको छ ।

सुझावित समाचार