बेथिति र निहित स्वार्थको प्रभाव अन्त्य गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र तथा राज्यका विभिन्न निकायमा देखिएको बेथिति र निहित स्वार्थ समूहको प्रभाव अन्त्य गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगत डेढ दशकदेखि देशका विभिन्न क्षेत्र निहित स्वार्थ समूहको प्रभावमा परेको दाबी गर्दै वर्तमान सरकारले त्यसलाई हटाउने अभियान सञ्चालन गरिरहेको बताए। उनका अनुसार विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका केही निकायसम्म त्यस्ता समूहको प्रभाव रहेको विषय क्रमशः सार्वजनिक हुँदै गएको छ।

नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालासम्बन्धी मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहितको मुद्दा अघि बढिरहेको जानकारी दिए। उनले उक्त प्रकरणले विगतमा जिम्मेवार व्यक्ति र संस्थाहरू कसरी प्रभावित भएका थिए भन्ने तथ्य उजागर गरेको बताए।

अर्थतन्त्र र प्रशासनिक क्षेत्रमा देखिएका विकृति तथा अनियमितता हटाउने उद्देश्यसहित सरकारले ‘क्लिन अप द मेस’ अभियान सुरु गरेको उल्लेख गर्दै उनले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको बताए।

अर्थमन्त्री वाग्लेले स्वदेशमा अवसर छैन भन्ने नकारात्मक धारणा परिवर्तन गर्न सरकार प्रयासरत रहेको पनि बताए। युवाहरूलाई देशभित्रै रोजगारी र सम्भावनाको वातावरण सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि सरकार सधैँ तयार रहेको उनको भनाइ थियो।

सुझावित समाचार