बर्दियामा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । गुलरिया नगरपालिका– ११, लालपुरमा भएको सवारी दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय तिलक कँडेलको मृत्यु भएको हो ।
त्यसैगरी, सवारी दुर्घटनामा परी सशस्त्र प्रहरीका जवान बासगढी नगरपालिका- ८, ककौराका ३५ वर्षीय दीपककुमारजंग शाह र ट्रकचालक मकवानपुरको बागमती गाउँपालिका– ५, समरीका ४० वर्षीय निरञ्जन दर्जी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते शाहलाई सामान्य उपचापश्चात् थप उपचारका लागि बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ भने अर्का घाइते ट्रकचालक दर्जीको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका बर्दियाका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
अवैध रूपमा भारततर्फ लैजाँदै गरेको दुईवटा भैँसी र एउटा पाडालाई नियन्त्रणमा लिई उक्त पशुचौपायालाई भन्सार कार्यालय गुलरिया छोड्न जाने क्रममा बिहान साढे ५ बजे दुर्घटना भएको थियो । नेपालगन्जबाट गुलरिया आउँदै गरेको बा.प्र ०३-००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिँदा कँडेलको मृत्यु र शाह र दर्जी घाइते भएका हुन् ।
मृतक सशस्त्र प्रहरी सहायक हवल्दार कँडेल र घाइते सशस्त्र प्रहरी जवान शाह दुवैजना फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत थिए । प्रहरीले ठक्कर दिने सवारीचालक र सवारीलाई नियन्त्रणामा लिई अनुसन्धान गरिरहेको छ ।