राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्। प्रदेश कमिटिको पोखरामा सम्पन्न प्रथम अधिवेशनले त्रिपाठीको सभापतित्वमा आगाम पाँचवर्षे कार्यकालका लागि ३४ सदस्य प्रदेश कमिटी निर्वाचित गरेको हो।
यसअघिको कार्यकालमा महासचिव रहेका कास्कीका त्रिपाठीले प्रतिनिधिसभा सदस्यसमेत रहेका आफ्नै सभापति नवलपुरका राजन गौतमसहित तीनजनालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित त्रिपाठीले दुई सय ३४ मत ल्याउँदा निकटतम गौतमले एक सय ८२ मत ल्याएका थिए।
सभापतिका अर्का उम्मेदवार माधव कँडेलले ११ र हरिबहादुर कार्कीले जम्मा दुई मत मात्र पाए। अधिवेशनको लागि प्रदेशका ११ जिल्लाबाट सात सय ८० जना प्रतिनिधिहरू छनोट भई आएका थिए। अधिवेशनले सभापतिसँगै प्रदेशका १८ निर्वाचन क्षेत्रबाट एक/ एकजना र समावेशीतर्फ १५ जना प्रदेश सदस्य निर्वाचित गरेको थियो। प्रदेश समितिले चार सदस्य पछि मनोनीत गर्न पाउने व्यवस्था रहेको छ। निर्वाचन क्षेत्रगतर्फ २८ र समावेशीतर्फ २३ जनाको उम्मेदवारी परेको थियो।
अधिवेशनले क्षेत्रगत प्रदेश सदस्यतर्फ बागलुङकी मीना शर्मा आचार्य, गोरखाका मनोज गुरुङ, गोरखाका बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की, तनहुँका सूर्यमणि पौडेल, समावेशी सदस्यमा खसआर्य महिलातर्फ सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलातर्फ समिउन निशा, दलित महिलातर्फ गीता विश्वकर्मा र अपांगतातर्फको खसआर्यबाट यदुनाथ सिग्देल गरी १२ सदस्य निर्विरोध निर्वाचित गरेको थियो ।