एमाले पुनर्गठन अभियान सुरु, प्रदेशस्तरबाट सुझाव संकलन थालियो

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेशस्तरबाट सुझाव संकलन अभियान सुरु गरेको छ। प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउन आवश्यक सुधारका विषयमा सुझाव लिन एमालेले कार्यदलमार्फत अभियान अघि बढाएको हो।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव संकलन प्रक्रिया सुरु गरिएको छ। बागमती प्रदेश संगठन कमिटीको बैठक शुक्रबारदेखि सञ्चालनमा रहेको छ भने बैठकपछि सुझाव संकलनका लागि विशेष भेला आयोजना गरिएको छ।

गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।

निर्धारित कार्यतालिकाअनुसार कोसी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, राजधानी विशेष तथा सम्पर्क समन्वय विशेष प्रदेशमा क्रमशः सुझाव संकलन गरिनेछ। प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन्।

कार्यदलले असार १८ गते जनसंगठनका प्रतिनिधि तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव संकलन गर्ने कार्यक्रम तय गरेको छ। एमालेले संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका लागि आगामी रणनीति तय गर्ने जनाएको छ।

सुझावित समाचार