कतारले स्विट्जरल्यान्डको चुनौती सामना गर्दै

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

एसियाली राष्ट्र कतारले स्विट्जरल्यान्डको सामना शनिबार राति गर्दै छ । यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा सुरु गर्नेछ । कतारले युरोपेली राष्ट्र स्विट्जरल्यान्डविरुद्धको खेल नेपाली समयअनुसार राति ०:४५ बजे अमेरिकाको लेभिस मैदानमा हुनेछ । समूह ‘बी’मा दुवै तीन अंक बटुल्ने प्रयासमा रहनेछन् । 

दुईपटक एएफसी एसियन कपको विजेता कतार पहिलोपटक छनोट चरण पार गरी विश्वकपमा पुगेको हो । चार वर्षअघि कतार आयोजक राष्ट्रका रूपमा सिधै छनोट भएको थियो । तर, कतारले घरेलु मैदानको फाइदा लिन सकेन । कतार पहिलो चरणबाटै बाहिरियो । स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको प्रशिक्षण रहेको कतार त्यसवेला बलिया राष्ट्र नेदरल्यान्ड्स, सेनेगल र इक्वेडरसँग पराजित भयो । उसले विपक्षी पोस्टमा एक गोल गर्दा सात गोल व्यहोरेको थियो । अहिले कतारका प्रशिक्षक लुलेन लोपेटगुई विश्वकपमा पहिलो जित निकाल्न चाहन्छन् । उनले अल्मोज अली र अक्रम अफिफलाई मुख्य खेलाडीका रूपमा समावेश गरेका छन् । अलीले एसियन छनोटमा १२ तथा अफिफले ११ गोल गरेका छन् । स्विट्जरल्यान्डसँग विश्वकप खेलेको १३ पटकको अनुभव छ । 

पछिल्लो तीन संस्करण उसले अन्तिम १६ को बाटो तय गरेको थियो । स्विट्जरल्यान्ड तीनपटक क्वार्टरफाइनल पुगेको छ । सन् १९३४, १९३८ र सन् १९५४ मा स्विट्जरल्यान्ड अन्तिम आठसम्म पुगेको थियो । विश्वकपको अनुभवी राष्ट्र स्विट्जरल्यान्डको पछिल्लो ६ विश्वकप यात्राको पहिलो खेल नै खराब रह्यो । उसले पहिलो खेलमा हारको सामना गरेको थियो । सन् १९६६ मा स्विट्जरल्यान्डले वेस्ट जर्मनीलाई हराएको थियो ।

प्लेयर्स टु वाच

अक्रम अफिफ (कतार)
कतारले पहिलोपटक छनोट भएर विश्वकप खेल्दा अक्रम मुख्य खेलाडीका रूपमा रहेका थिए । २९ वर्षीय अक्रम कतारका मुख्य स्ट्राइकरसमेत हुन् । तीव्र गतिमा दौडन सक्ने अक्रमले एसियाली प्रतिस्पर्धामा आफूलाई अब्बल रूपमा स्थापित गर्दै आएका छन् । दोस्रोपटक विश्वकप खेल्दा उनले आफूलाई भने प्रमाणित गर्नुपर्ने हुन्छ । कतारको राष्ट्रिय टोलीबाट एक सयभन्दा बढी खेल खेलिसकेका उनी कतारी क्लब अलसादमै छन् । उनलाई अग्रपंक्तिमा अल्मोएज अली, युसुफ अब्दुरिसागजस्ता खेलाडीको साथ रहनेछ ।

रुवेन भार्गस (स्विट्जरल्यान्ड)
एसियको बलियो राष्ट्र कतारविरुद्ध अट्याकिङ मिडफिल्डर तथा विंगर रुवेन प्रभावशाली बन्न सक्छन् । २७ वर्षीय रुवेनसँग युरोपका ठुला लिग खेलेको अनुभव छ । स्पेनिस ला लिगा क्लब सेभिल्लाबाट उनी व्यावसायिक फुटबल खेल्दै आएका छन् । त्यसैले पनि उनी कतारविरुद्ध हाबी हुन सक्छन् । सन् २०२४ बाट ला लिगा खेल्न थालेका उनी त्यसअघि पाँच वर्ष बुन्डेस लिगा खेलेका थिए । स्विट्जरल्यान्डका लागि एक सय ३० खेल खेलिसकेका छन् । उनको खुसी नै साथीलाई सहज गोलका लागि अवसर निकाल्नु हो । 

See More On

सुझावित समाचार