एमालेको चुनावी समीक्षा र पुनर्गठन सुझाव भेला : बागमतीका अधिकांश जिल्ला अध्यक्ष ओलीको पक्षमा

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

एमाले बागमती प्रदेशका अधिकांश जिल्ला अध्यक्ष पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरताको पक्षमा खुलेका छन् । शुक्रबारबाट सुरु भएको एमालेको चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश कमिटी बैठक तथा भेलामा अधिकांश जिल्ला अध्यक्ष ओलीकै निरन्तरताका पक्षमा खुलेका हुन् । चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुरु भएको सुझाव संकलन अभियान बागमती हुँदै सात प्रदेश, राजधानी प्रदेश तथा जनसंगठनमा पुगेर १९ असारमा सकिने गरी एमालेले कार्यतालिका बनाएको छ । 

प्रदेश बैठकमा एमालेका सात जिल्ला अध्यक्षले पार्टी संकटमा रहेका वेला पुनर्गठनका नाममा अध्यक्ष ओलीको विकल्प खोज्न नहुने पक्षमा रहे भने एकजना जिल्ला अध्यक्षले भने पक्ष–विपक्षमा स्पष्ट नखुली मध्यमार्गी विचार राखे । चितवनका कमल पाठक, दोलखाका नरबहादुर श्रेष्ठ, सिन्धुलीका महेन्द्रदेव श्रेष्ठ, काभ्रेका राजन भुर्तेल, मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, धादिङका कार्यवाहक अध्यक्ष राजु गोर्खाली ओलीको निरन्तरताको पक्षमा खुलेका हुन् । रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भने पार्टीभित्र कहीँ न कहीँ समस्या थियो भने स्विकारेर समीक्षा गर्दै अघि बढ्दा मात्र एमाले बलियो हुने विचार राखेका थिए । मूल नेतृत्व हटाएर अर्को नेतृत्व ल्याउने कि नल्याउने विषयमा उनी प्रस्ट खुलेनन् । 

‘यदि पार्टीको नीति, विचार र नेतृत्व सबै सही थियो भने चुनावमा कसरी पार्टीले अकल्पनीय क्षति व्यहोर्नुपर्यो ? त्यसैले हामीभित्र यी तीनवटै कुरामा या कहीँ न कहीँ समस्या थियो भन्ने यथार्थ स्विकारेर अघि बढ्नु उपयुक्त हुन्छ,’ कडरियाको भनाइ थियो । बैठकमा दोलखा र सिन्धुलीका अध्यक्ष, धादिङका अध्यक्षले पार्टी र नेतृत्वमाथि प्रतिक्रियावादीले चौतर्फी हमला गरिरहेका वेला ओलीको विकल्प खोज्ने जो–कोही नेतालाई कारबाही गरेर भए पनि जानुपर्ने कडा विचार राखेका थिए । 

बैठकमा सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, नुवाकोटका बद्री मैनाली र रसुवाका अध्यक्ष उपस्थित थिएनन् । बागमती भूगोलभित्रकै काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एमालेले राजधानी प्रदेश कमिटीभित्र समेटेको छ । बैठकमा कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापाले अहिले पार्टीभित्र पुनर्गठनका नाममा दुई लाइन संघर्ष सुरु भएको संकेत गर्दै समीक्षाकै सिलसिलामा सातै प्रदेश तहमा भेला गर्न लागिएको बताए । ‘अहिले पार्टीभित्र नेतृत्वलाई विस्थापित गर्ने कि संरक्षण गर्ने भन्ने बहस भइरहेको छ । कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनमा पराजयपछि निराशा, पलायनवाद, संशयवाद तथा वैचारिक अन्योल देखिएको छ । पार्टीको पुनर्गठनका लागि नेतृत्व, संगठन र नीतिको गम्भीर समीक्षा आवश्यक छ,’ थापाले भने । 

सचिव महेश बस्नेतले संकटका वेला पार्टीपंक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए । शनिबार जिल्ला पदाधिकारी र पार्टीबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले चुनावी समीक्षा र पार्टी पुनर्गठनमा केन्द्रित रहेर सुझाव दिनेछन् । भेलामा महासचिव शंकर पोखरेलसहित कार्यदलका सदस्य पनि सहभागी हुँदै छन् ।

२६ जेठमा बसेको कार्यदल बैठकले सातवटै प्रदेशमा सुझाव संकलन अभियान सुरु गर्ने निर्णय गरेको थियो । त्यसअन्तर्गत बागमतीमा बैठक र भेला भएको हो । बागमती अध्यक्ष कैलाश ढुंगेलका अनुसार भेला शनिबार सकिनेछ । 

यस्तो छ सुझाव संकलन कार्यतालिका 
बैठकले विभिन्न प्रदेश तथा संरचनागत निकायमा सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार ३० जेठमा बागमती प्रदेश, २ असारमा कोशी प्रदेश, ४ असारमा लुम्बिनी प्रदेश र ६ असारमा सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन हुनेछन् ।

त्यस्तै, ८ असारमा कर्णाली प्रदेश, ११ असारमा गण्डकी प्रदेश, १३ असारमा मधेश प्रदेश, १६ असारमा राजधानी प्रदेश, १७ असारमा सम्पर्क समन्वय कमिटी प्रदेश, १८ असारमा जनसंगठन तथा अन्तिममा १९ असारमा विभाग प्रमुख तथा निकायका पदाधिकारीबाट सुझाव संकलन गर्ने गरी बैठकले कार्यतालिका पास गरेको छ । प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीको सहभागिता रहनेछ । 
 

सुझावित समाचार