हेलम्बु र पाँच पोखरीको जित

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले आठौँ पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

बिहीबार तल्लो मूलपानी क्रिकेट मैदानमा सचिन लेखकले दोहोरो सतक बनाउँदा हेलम्बुले थाङपाल भ्याली माध्यमिक विद्यालयलाई २४४ रनले हरायो ।

हेलम्बुले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा थाङपाल भ्यालीले १५ ओभरमा अल आउट हुँदा मात्र ५७ रन बनाउन सक्यो । 

हेलम्बुका सचिनले ७५ बलमा १२ चौका र २० छक्कासहित अविजित २०९ रन बनाएका थिए । विनोद तामाङले २३ बलमा ४९ रन जोडे । 

अर्को खेलमा पाँचपोखरीले  साँगाचोक युथ क्लबलाई ९७ रनले हरायो । टस जितेर ब्याटिङ गरेको हिमालयनले १३ ओभरमा ३ विकेट गुमाउँदै १३१ रनको लक्ष्य दियो । प्रत्युत्तरमा साँगाचोक ६ ओभरमै अल आउट हुँदा मात्र ३३ रन बनाउन सक्यो । 

पाँचपोखरीका लागि सुमन सुनारले ५१ बलमा ५ चौका र ४ छक्कासहित अविजित ८४ रन बनाएका थिए । कप्तान पेम्बा तामाङले ७ बलमा १५ रन तथा कर्मा तामाङले १४ रन जोडेका हुन् । 

साँगाथोकका लागि प्रताप कार्कीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले रन जोड्नै सकेनन् ।  पाँचपोखरीका  अजय तामाङले ३ विकेट लिएका थिए ।

सुझावित समाचार