माथिल्लो काबेली जलविद्युत् आयोजनाको ५.६ किलोमिटर सुरुङ निर्माणकार्य सम्पन्न, आयोजनाको ७५ प्रतिशत सकियो

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

ताप्लेजुङमा निर्माणाधीन २८.१ मेगावट क्षमताको माथिल्लो काबेली जलविद्युत् अयोजनाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । आयोजनको मुख्य हेडसर सुरुङमा ब्रेक थ्रू भएसँगै कुल ५.६ किलोमिटर लम्बाइका सबै सुरुङ निर्माणकार्य सम्पन्न भएको जनाएको छ । 

सिरिजंघा गाउँपालिका र सिदिङवा गाउँपालिकाको सिमाना हुँदै बग्ने काबेली खोलामा निर्माण भइरहेको आयोजनाको करिब ४.८ किलोमिटर लामो मुख्य हेडसर सुरुङ ब्रेक थ्रू भएको आयोजनाका प्रबन्धक प्रकाश ढुंगानाले बताए। मुख्य अडिट सुरुङसहित कुल पाँच हजार ६ सय मिटरबराबरको सुरुङ निर्माण भइसकेकोसमेत ढुंगानाले जानकारी दिए।

उनले मुख्य सुरुङसँगै पेनस्टक टनेल, इन्टेक संरचना पाइप बिछ्याउने तथा प्रसारणलाइनका लागि तर टाँग्ने अधिकांश काम सम्पन्न भइसकेको छ। हाज बालुवा थिग्य्राउने पोखरी निर्माणको करिब ५० प्रतिशत काम सकिएकोसमेत बताइएको छ। आयोजनाले आगामी असोज–कात्तिकभित्र विद्युत् उत्पादन परीक्षण गर्ने लक्ष्यसमेत लिएको उनले जानकारी दिए। 

आयोजनको मुहान (हेडवर्क्स) सिरिजंघा गाउँपालिका– ४ तेल्लोक क्षेत्रमा रहेको छ भने विद्युतगृह सिरिजंघा गाउँपालिका १ र २ खाम्दिने बजार पुछारमा नेबुखोला दोभानमा निर्माण भइरहेको छ। खोयाहाङदेखि सिनमासम्म फैलिएको हेडरेस सुरुङ आयोजनाको मुख्य संरचनामध्येको एक हो। 

पिस इनर्जी कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको अनुमानित लागत पाँच अर्ब ६४ करोड ६९ लाख रुपैयाँ रहेको छ। कुल लागतको ७५ प्रतिशत रकम नेपाल बैंक लिमिटेडको ऋण  लगानीबाट जुटाइएको छ भने बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक कम्पनीको स्वपुँजी रहेको छ। माछापुच्छ्रे बैंकको नेतृत्वमा हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइन बैंकले ऋण लगानी गरेका छन्। 

आयोजनाबाट उत्पादन हुने विद्युत् पाँथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरमा रहेको नेपाल विद्युत् प्रधिकरणको १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय लाइनमा जोडिने बताइएको छ। आयोजनाको मुख्य प्रभावित ताप्लेजुङको सिरिजंघा गाउँपालिका सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिका लिम्बुदिन र मेहेले क्षेत्र पर्दछन्। सुरुङमार्ग सम्पन्नसँगै  आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको बताइएको छ। 
 

सुझावित समाचार