सरकारले हालै गरेको मन्त्रालय पुनर्संरचनापछि सचिव व्यवस्थापनमा चुनौती देखिएको छ । मन्त्रिपरिषद्को ३० वैशाखको निर्णयअनुसार संघीय मन्त्रालयको संख्या चारवटा घटाएर १८ कायम गरिएपछि मन्त्रालय गाभ्ने र खारेज गर्ने प्रक्रियाले प्रशासनिक तहमा असन्तुलन सिर्जना गरेको छ ।
मन्त्रालयहरूको पुनर्संरचनासँगै साबिककै दरबन्दीअनुसार बढुवा भएका सचिवहरूको व्यवस्थापन कठिन बनेको छ । यसैको परिणामस्वरूप अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब १० सचिव थुप्रिएका छन् ।
निजामती किताबखानाको तथ्यांकअनुसार हाल विशिष्ट श्रेणी (सचिव) को दरबन्दी ७१ रहेकामा ६५ जना कार्यरत छन् । मन्त्रालय गाभिँदा र संरचना घटाइँदा आवश्यक दरबन्दीभन्दा बढी सचिव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।
सरकारले नौ मन्त्रालय यथावत् राख्दै एउटा नयाँ मन्त्रालय थपेर र आठ मन्त्रालय गाभेर कुल १८ मन्त्रालय कायम गरेको छ । तर, संगठनात्मक संरचना परिवर्तनसँगै सचिवहरूको कार्यविभाजन मिलाउन कठिनाइ भएको छ ।
मन्त्रालयहरू गाभेपछि अहिले सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरिरहेको छ । यसअघि नै प्रधानमन्त्री कार्यालय, कानुन, अर्थ र सामान्य प्रशासन मन्त्रालयको सचिव सम्मिलित एउटा समितिले ओएन्डएमको १८ बुँदे सिद्धान्त नै बनाएर दिइसकेको छ । त्यही सिद्धान्तका आधारमा मन्त्रालयहरूले ओएन्डएम गरिरहेका छन् । ओएन्डएमका लागि आगामी ७ असारसम्मको समय दिइएको छ ।