यू–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश अविजित, कर्णाली तेस्रो खेलमा पनि पराजित

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका पछिल्ला तीन खेलमा लगातार जीत निकालेको सुदूरपश्चिमको चौथो खेलमा ब्रेक लागेको छ भने मधेशको अविजित यात्रा जारी छ। कर्णालीले भने हालसम्म खेलेका तीन वटै खेलमा निरन्तर हार व्यहोरेको छ।

मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो। मधेसले भने बागमतीलाई २९ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

कालुङचोक मैदानमा टस जितेर सुदूरलाई ब्याटिङका लागि निम्ता दिएको गण्डकीले १९.५ ओभरमा जम्मा ८७ रनमा अलआउट गर्न सफल भयो। सुधारिएको बलिङ गरेको गण्डकीका लागि प्लयेर अफ दि म्याच रचना चौधरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन दिएर ५ विकेट हात पारिन्। यस्तै आयुष्मा चापागाईँको नाममा ४ विकेट रह्यो।

गण्डकीका लागि रचना चौधरीले २७ रनको योगदान दिंदा ज्योत्सिनाका मरासिनी र सेरिना थापाले समान १७–१७ रन जोडे। अघिल्ला खेलहरुमा आक्रामक खेलेको सुदूरका ब्याटर चौथो खेलमा भने फितलो देखिए। सुदूरका लागि स्नेहा महरा र करुणा विष्टले समान दश–दश रन जोड्नुबाहेक अरु सबै एकल अंकमै सीमित भए।

वीरेन्द्रनगर मैदानमा भएको मंगलबार बिहानको खेलमा टस जितेर पहिला बलिङ रोजेको बागमतीविरुद्ध मधेशले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १४० रनको स्कोर खडा गरेको थियो। मधेसकी ओपनर सना परविनले आफ्नो ब्याटिङ लयलाई कायम राख्दै ६० बलमा ११ चौकासहित ६८ रन बनाउँदा भूमि सिंह र एलिशा यादवले २१–२१ रन जोडे।

बलिङतर्फ बागमतीका काबिया रावल, सम्भाव्या ढकाल र कृष्मा गुरुङको नाममा समान एक विकेट रह्यो। जवाफी ब्याटिङमा बागमतीका लागि सेविकाकुमारी यादवले १८ तथा लक्ष्मीमाया रुम्बा लिम्बूले १४ रन बनाए। बागमतीलाई सस्तैमा रोक्ने क्रममा प्लयेर अफ दि म्याच प्रतिमा साहले ३ विकेट झारिन्।

मंगलबारको अर्को खेलमा घरेलु टोली कर्णालीले कोशीसँग २४ रनको पराजय ब्यहोर्यो। कर्णालीको यो लगातार तेस्रो हार हो। कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। कोशीका प्रिन्सा रानामगरले ३०, टीका शाहले २७, प्रिया मल्लाहले १२ तथा पूर्णिमा राजबंशीले ११ रन बनाए।

१६ रन अतिरिक्त पाएको कर्णालीका लागि समीक्षा बीसीले २०, शिखा दुवाडीले १५, सोविका शाहीले १४, सोना चन्दले १२, आयिश्मा गिरीले १० रन बनाए पनि अरुको प्रदर्शन साविकझैं कमजोर रह्यो।

कोशीका कृष्टिना धामीले ४, टीका शाहले ३ र बन्धना राजवंशीले २ विकेट लिए। प्रतियोगिताको चौथो दिनको खेलहरु सकिँदासम्म ३ खेलमा तीनवटै जित हात पारेको मधेश शीर्ष स्थानमा उक्लिँदा सुदूरपश्चिम दोस्रोमा झरेको छ।

सुझावित समाचार