​४२ सय मिटर उचाइमा हेलम्बु सरकारकाे कार्यपालिका बैठक

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

​सिन्धुपाल्चोकको पर्यटकीय एवं धार्मिक महत्त्व बोकेको हिमाली क्षेत्र छ्याती घाङमा हेलम्बु गाउँपालिकाको ऐतिहासिक कार्यपालिका बैठक सम्पन्न भएको छ।

समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा अवस्थित वडा नं. १ हिमाली मैदानमा पालिकाले जलवायु परिवर्तन, हिमनदी संरक्षण र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर महत्त्वपूर्ण निर्णयहरू गरेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको शिरमा अवस्थित, मानवबस्तीविहीन छ्याती घाङमा बैठक बस्नका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी निरन्तर १५ घण्टा पैदल हिँडेका थिए ।  

गाउँपालिकाको मुख्य प्रशासनिक भवन क्युलबाट पैदल यात्रा तय गरी पालिका प्रमुख निमाग्याल्जेन शेर्पा, विभिन्न वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र सबै विषयगत शाखाका प्रमुखहरू बैठकस्थल पुगेका हुन्। एकाध शेर्पा समुदायको बसोबास रहेको तीन हजार ६६० मिटर उचाइको ठाडेपाटीबाट मात्रै बैठकस्थल पुग्न टोलीलाई तीन घण्टा उकालो हिँड्नुपरेको थियो । ​उच्च हिमाली क्षेत्रको वातावरणीय संकट र पर्यटन प्रवर्द्धनप्रति देशकै ध्यानाकर्षण गराउन आयोजित उक्त बैठकले पाँचवटा महत्त्वपूर्ण रणनीतिक निर्णयहरू पारित गरेको छ।

​बैठकले हेलम्बुका उच्च हिमाली क्षेत्रहरूको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई व्यवस्थित गर्न एक विशेष गुरुयोजना तर्जुमा गर्ने निर्णय गरेको छ। जसअन्तर्गत नयाँ पदमार्गहरूको पहिचान, सुधार, संकेतचिह्न व्यवस्थापन, पर्यटक सुरक्षा तथा उद्धार प्रणालीको विकास गरिनेछ। यी कार्यक्रमहरू आगामी आर्थिक वर्ष ०८३/८४ को नीति, कार्यक्रम र बजेटमा समावेश गरिने निर्णय भएको छ।

​स्थानीय अनुकूलन योजनाअनुरूप जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न हिमनदी संरक्षण, जलाधार क्षेत्र व्यवस्थापन र जैविक विविधता संरक्षणसम्बन्धी कार्यहरू अघि बढाइने भएको छ। जलवायु परिवर्तनका कारण हेलम्बुका उच्च हिमाली क्षेत्र र स्थानीय समुदायमा परेको असर न्यूनीकरणका लागि संघ, प्रदेश तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी जलवायु वित्त र क्षति तथा नोक्सानी कोषबाट बजेट र सहायता जुटाउन पहल गर्ने निर्णय बैठकले गरेको छ।

​राजधानी काठमाडौं उपत्यकाको तिर्खा मेट्ने मुख्य आयोजना मेलम्ची खानेपानी आयोजनाको प्रमुख मुहान क्षेत्र हेलम्बुमै पर्ने हुँदा बैठकले विशेष निर्णय गरेको छ। यस क्षेत्रका हिमनदी तथा जलस्रोतहरूको संरक्षणलाई राष्ट्रिय महत्त्वको रणनीतिक दायित्वका रूपमा लिई प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने निर्णय गरिएको छ। यसका लागि आवश्यक पर्याप्त बजेट व्यवस्थापन गर्न संघीय, प्रादेशिक सरकार तथा दातृ निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ।

​त्यसैगरी, ​धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र सरसफाइमा स्थानीय समुदाय, आमा समूह, युवा क्लब र धार्मिक संस्थाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने भएको छ। पर्यटकीय क्षेत्रमा थुप्रिने फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित फाेहाेर व्यवस्थापन याेजना तर्जुमा गरी कम प्रयोग, पुनः प्रयोग र चक्रीय प्रणाली  रणनीति आगामी अबको नीति तथा बजेटमा प्राथमिकताका साथ समावेश गरिनेछ ।

​खेलकुद र साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न हेलम्बु गाउँपालिकाभित्र उपयुक्त स्थानमा हेलम्बु हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गरिने निर्णय भएको छ।  पालिका प्रमुख शेर्पाले हेलम्बु गाउँपालिकाले लिएका निर्णयबाट पर्यटन, धार्मिक गतिविधि, जैविक विविधता संरक्षणजस्ता विषयमा महत्त्वपूर्ण कदम हुने बताए  ।

सुझावित समाचार