ब्रिटिस गोर्खाबारे नेपाल–बेलायत मन्त्रीस्तरीय वार्ता

छिटो र न्यायोचित रूपमा गोर्खा सैनिकको माग सम्बोधन होस् : परराष्ट्रमन्त्री

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल र बेलायतबिच पूर्वगोर्खाहरूको असमान पेन्सनलगायतका विषयमा भिडियोमार्फत सोमबार मन्त्रीस्तरीय औपचारिक वार्ता भएको छ । बेलायतस्थित नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको समन्वयमा ब्रिटिस गोर्खाका ११ जना प्रतिनिधिसहित भएको वार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिटिस गोर्खा सैनिकका माग न्यायोचित रूपमा र शीघ्र सम्बोधनका लागि अनुरोध गरेका छन् । 

क्याबिनेट मन्त्रीको तहमा ब्रिटिस गोर्खाको समस्याबारे पहिलोपटक वार्ता भएको हो । बेलायती रक्षामन्त्री जोन हिली नेपाली दूतावासमा आउने तय भए पनि पछि उनी भिडियोमा सहभागी भए । अवकाशप्राप्त सैनिक र जनशक्ति मामिलासम्बन्धी सहायकमन्त्री लुइस स्यान्डर जोन्स र रक्षा मन्त्रालयका उच्च अधिकारीहरू नेपाली दूतावासमा पुगेर परराष्ट्रमन्त्री खनालसँग भिडियो वार्तामा सहभागी भए ।

बेलायती रक्षामन्त्री हिली आधा घण्टा मात्रै बैठकमा सहभागी भए । उनले परराष्ट्रमन्त्री खनालको सम्बोधन सुने । बैठकमा सहायकमन्त्री लुइसले जवाफ दिएकी थिइन् । मन्त्रीस्तरमा आधा घण्टा भिडियो वार्ता भयो भने लन्डनस्थित नेपाली दूतावासमा बेलायती सहायकमन्त्री, सांसद, रक्षा मन्त्रालयका अधिकारी, कार्यवाहक राजदूत दुवाडी तथा ब्रिटिस गोर्खा प्रतिनिधिको छलफल करिब डेढ घण्टासम्म चलेको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा मुख्यतः बेलायती गोर्खा सैनिकहरूका दीर्घकालीन रूपमा समाधान हुन बाँकी रहेका समस्या, विशेष गरी समानुपातिक पेन्सनको मागलगायतका विषयमा छलफल भएको थियो । पेन्सनबाहेक सामाजिक सुरक्षा (औषधि उपचारसमेत) का माग सम्बोधन गर्न बेलायतले लचकता देखाएको वार्तामा सहभागी अधिकारीले बताए । 

भिडियो वार्तामा सुरुमा दुईजना ब्रिटिस गोर्खा प्रतिनिधिले विषय प्रवेश गरेपछि परराष्ट्रमन्त्री खनालले सम्बोधन गरेका थिए । उनले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भने, ‘उनीहरूका जायज माग तथा गुनासाहरूको यथाशीघ्र आपसी सहमतिमा आधारित समाधान खोजिनुपर्छ । दुई देशबिच दुई सय वर्षभन्दा पुरानो सम्बन्धको आधार गोर्खा हुन्, यसलाई आर्थिक सन्दर्भमा मात्र होइन, साझा मूल्य, न्याय र पारस्परिक सम्मानको हिसाबले पनि हेर्नुपर्छ ।’ 

रक्षामन्त्री हिलीका तर्फबाट वार्तामा पूर्वसैनिक तथा जनशक्ति मामिलामन्त्री लुइसले सम्बोधन गरेकी थिइन् । उनले बेलायती गोर्खा पूर्वसैनिकहरूका मुद्दाहरू समाधान गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

वार्तामा परराष्ट्रसचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए । बेलायती पक्षबाट नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष एलेक्स बेकर, बेलायती रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू नेपाली दूतावासमा उपस्थित थिए । 

सुझावित समाचार