राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश प्रथम अधिवेशन उद्घाटन गर्न हेटौँडा आउने भनिएका पार्टी सभापति रवि लामिछाने अन्ततः कार्यक्रममा सहभागी नहुने भएका छन् ।
मंगलबार हेटौँडामा आयोजना हुने रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति लामिछानेले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो । प्रदेश तथा जिल्ला समितिले समेत लामिछानेको उपस्थितिलाई केन्द्रमा राखेर प्रचारप्रसार गरेका थिए । तर, अन्तिम समयमा उनी हेटौँडा नआउने जानकारी पार्टी स्रोतले दिएको छ ।
रास्वपा स्रोतका अनुसार प्रतिनिधिसभाको बैठक रहेका कारण सभापति लामिछाने हेटौँडा आउन नसक्ने भएका हुन् । यद्यपि, पार्टीले यसबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।
अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सदस्यहरू पुकार बम, राजीव खत्रीलगायतका नेताहरू सोमबार नै हेटौँडा आइसकेका छन् । उनीहरूले अधिवेशनको उद्घाटन तथा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउने जनाइएको छ।
यस विषयमा प्रतिक्रिया माग्दा रास्वपा बागमती प्रदेश सभापति अच्युतम लामिछाने तथा रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकले सभापति आउने वा नआउने विषयमा आफूहरूलाई अन्तिम जानकारी प्राप्त नभएको बताएका छन् ।
‘सभापतिज्यूको कार्यक्रमबारे आधिकारिक जानकारी आएको छैन,’ उनीहरूले भने, हामीले पनि बुझ्नैपर्छ ।’ यसअघि प्रदेश समिति र जिल्ला समितिले सभापति लामिछानेले अधिवेशन उद्घाटन गर्ने भन्दै सार्वजनिक रूपमा जानकारी दिएका थिए । सोही आधारमा कार्यकर्ता तथा प्रतिनिधिहरूले उनको उपस्थितिको अपेक्षा गरेका थिए ।
हेटौँडा– १ स्थित हिमालयन दरबारमा हुने अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुँदै छन् । अधिवेशनबाट प्रदेशको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार, आगामी रणनीति र राजनीतिक कार्यदिशाबारे छलफल हुने कार्यक्रम रहेको छ ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ । बागमती प्रदेशको प्रथम अधिवेशनस्थल हेटौँडामा अहिले रास्वपाका नेता तथा कार्यकर्ता र प्रतिनिधिहरूको चहल पहल बढेको छ ।
