फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प : भूकम्पमा परेर कम्तीमा ३२ जनाको मृत्यु, केही घाइते

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका छन् ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७:४० बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुको दक्षिणी छेउमा रहेको सारंगानी प्रान्तको मासिमबाट ३२ किलोमिटर (२० माइल) पश्चिममा रहेको तटीय क्षेत्रमा रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराइमा रहेको थियो । 

भूकम्पको धक्का देशका एक दर्जन प्रान्तमा तीव्र रूपमा महसुस गरिएको थियो । स्थानीय समयअनुसार बिहान अबेरसम्म फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान केन्द्रले १३८ वटा परकम्पन रिपोर्ट गरेको थियो, जसमध्ये सबैभन्दा बढी ६.७ म्याग्निच्युड थिए । भूकम्पमा १२९ जना घाइते भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 

उत्तरी इन्डोनेसिया र बोर्नियो टापुमा रहेको मलेसियाली राज्य सबामा सुनामी चेतावनी जारी गरिएको छ । भूकम्पको असर जापान, इन्डोनेसिया र अस्ट्रेलियामा पनि महसुस गरिएको थियो ।

जापानको मौसम विज्ञान एजेन्सीले एक एडभाइजरी जारी गर्दै आठ इन्चसम्म सुनामी देखिएको बताएको छ, जसका कारण समुद्री डुंगामा केही अवरोध आएको छ । जापानका केही समुद्री तट बन्द गरिएको छ । अमेरिकी सुनामी चेतावनी प्रणालीले धेरै देश प्रभावित हुन सक्ने बताएको छ र अस्ट्रेलियाले पनि सुरुमा उत्तरी तटमा सम्भावित सुनामी छालबारे चेतावनी दिएको छ ।

सुझावित समाचार